होटलका शेयरको माग यसकारण बढ्यो, तारागाउँमा गैरआवासीय लगानीकर्ता

0
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना खोप बनेपछि विश्व बजारमै नै होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरुको शेयर मूल्य बढिरहेको अवस्थामा नेपालको शेयर बजारमा पनि होटल समुहका शेयरमा लगानीकर्ताको आर्कषण थपिएको छ ।

सोमबारको शेयरबजारमा होटल समुहमा लगानीकर्ताहरुको आकर्षण देखिँदा शेयर मूल्य उच्चदरले बढेको छ । यसदिन होटल समुह ९ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ ।

खासगरी गैरआवासीय नेपालीहरुको एक समूहले होटलहरु मध्येमा सबैभन्दा सस्तो तारागाँउ होटलको शयर उठाउँन थालेपछि सोमबार सबै होटलका शेयरको मूल्य बढेको छ । सोल्टी होटल र तारागाँउ होटलको शेयर मूल्य सर्किट लेभलमा बढ्दा ओरियन्टल होटलको पनि आठ प्रतिशत भन्दा बढीले शेयर भाउ बढेको छ ।

तारागाँउ होटलको शेयर गैरआवासीय नेपालीहरुको एक समूहले उठाईरहेको चर्चाहरु बढेपछि सोमबार सोल्टी र आरेन्टल लगायतका होटलहरुको शेयरमा पनि उच्च् खरिद चाप देखिएको छ ।

कोरोना संक्रमणका कारण ओरेन्टल र सोल्टीले गत बर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरे पनि तारागाँउले भने १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कोभिड–१९ को प्रभाव न्युनिकरण हुँदै गएको र खोप समेत भित्रीएको अवस्थामा पर्यटन व्यवसायले गति लिने आशा जागेपछि लगानीकर्ताको ध्यान होटलले तानेको हो। अर्कातर्फ अन्य समुहमा राम्रो नाफा कमाएका लगानीकर्ताले पोर्टफोलियो बदल्ने क्रममा पनि होटल रोजाईमा परेको देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १४ : ३९ बजे