करेक्शनपछि शेयर बजारमा सुधार: नेप्से २४ सय माथि, होटलमा आकर्षण

0
Shares

निरन्तर सुधारउन्मुख रहेको शेयर बजार दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको छ । दुई दिनमा ७० अंक ओरालो लागेको नेप्सेमा सोमबार करिब ३८ अंकको सुधार आएको छ । 

गत बिहीबार १६.५५ अंकले झरेको नेप्से आइतबार ५४.७५ अंकले ओरालो लागेको थियो ।

दुई दिन झरेको बजार सोमबार ३७.७० अंकले बढेर २४०८ अंकमा उक्लिएको छ । ६ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २०३ कम्पनीको १ करोड ३३ लाख ११ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए।

माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन होटल समुहका सूचकमा उच्च सुधार आएको छ । यसदिन झण्डै एकदर्जन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

सेञ्चुरी कमर्सियल बैंक, प्रोग्रेशिभ फाइनान्स पोखरा फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल्स, तारागाउँ रिजेन्सी र बेष्ट फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।