सञ्चारमन्त्री भन्छन् : नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाइन्छ


सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सर्वसाधारणको हिस्सा बढाउने बताएका छन् ।

संस्थालाई सबल बनाउनका लागि सर्वसाधारणको लगानी महत्वपूर्ण हुने भन्दै मन्त्री गुरुङले टेलिकममा सर्वसाधारणको हिस्सा बढाउने बताएका हुन् ।

बिहीबार नेपाल टलिकमको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चालक समितिको बैठक बसेर सर्वसाधारणको हिस्सा बढाउने सम्बन्धमा निर्णयमा पुग्न सञ्चालक समितिलाई निर्देशन दिए ।

टेलिकमलाई सबल र दीगो बनाउनका लागि जनताको सहभागिता महत्वपूर्ण हुने बताएका मन्त्री गुरुङले नीतिगत रुपमा नै जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुु पर्नेमा जोड दिए ।

टेलिकमको अहिलेको संरचना परिवर्तनको विषय महत्वपूर्ण भएको बताएका उनले लगानी सहितको रणनीतिक साझेदारलाई पनि भित्र्याउन सकिने बताएका थिए । यसका लागि पनि आवश्यक गृहकार्य गर्न उनले कम्पनी सञ्चालक समितिलाई निर्देशन दिएका छन् ।

सर्वसाधारण र कर्मचारीको हिस्सा ८.४७ प्रतिशत मात्र रहेको टेलिकममा सरकारको ९१.३ प्रतिशत हिस्सा छ । सरकारी स्वामित्व घटाएर सर्वसाधारणको हिस्सा २६ प्रतिशत पुर्याउने सम्बन्धमा यस अघिदेखि नै चर्चा हुँदै आएको छ ।

मन्त्री गुरुङले टेलिकमको सेवा खस्केको गुनासो धेरै आउने गरेको भन्दै त्यसलाई सु्धार गर्न पनि निर्देशन दिएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।