महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो, शुक्रबार ‘आईपीओ डे’

0
Shares

महिला लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपीओ) निष्काशनको मिति २ दिन पछि सारेको छ । कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा अब माघ ३० गतेदेखि निष्काशन गर्ने भएको छ ।

कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै आईपीओ निष्काशनको समय पछि सार्न गरेको अनुरोधपछि मिति सारेको जनाएको छ ।

पछिल्लो समयमा मेरो शेयरमा ट्राफिक जाम नहोस भन्नका लागि आईपीओ निष्काशन र बाँडफाँड शुक्रबार हुँदै आएको छ । कतिपयले शुक्रबारलाई आईपीओ डे समेत भन्ने गरेका छन् । तर, सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयर सफ्टवेयरको क्षमता विस्तार गर्न नसक्दा अहिले एक साथ दुई आइपीओ निष्काशन नहुने अवस्था रहेको छ ।

आईपीओमा आवेदन गर्ने संख्या बढेकाले मेरो शेयर सफ्टवेयरमा पटक पटक समस्या आउने गरेको छ । तर, सिडिएससीेले यो समस्या समाधान गर्नुको साटो वैकल्पीक उपायहरु खोजिगर्ने गरेको छ ।

माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ ।

लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिनेछ ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।