आइतबार डिम्याट खातामा जम्मा भएको शेयर टीएमएसमा नआउँदा लगानीकर्ताले बेच्न पाएनन्, किन हुन्छ यस्तो ?


एक जना कारोबारी लगानीकर्ताले कुनै कम्पनीको शेयर गत बिहीबार खरिद गरे । कारोबार मात्र गर्ने उद्धेश्यले किनिएको शेयरको भाउ सोमबार माथिल्लो विन्दुमा चढ्यो र उनले अनलाइन कारोबार प्रणाली लगइन गरेर सिधै शेयर बिक्रीको आदेश प्रबिष्ट गर्न खाजे । तर प्रणालीले टीएमएसमा पर्याप्त व्यालेन्स नभएको भन्दै उनको शेयर बिक्री आदेशलाई प्रबिष्ट गर्न मानेन । त्यस पछि उनले शेयर दलालकोमा फोन गरेर समस्याको बारेमा जानकारी गराए ।

शेयर ब्रोकरले ‘टी प्लस टू’ को राफसाफ प्रणाली अनुसार बिहीबार किनिएको शेयर आइतबार साँझ लगानीकर्ताको खातामा जम्मा गरि दिएका थिए । तर सोमबार पनि उक्त शेयरलाई टीएमएसले आफ्नो प्रणालीमा मौज्दात भएको नदेखाए पछि उनी जस्तै केही लगानीकर्ताहरुले शेयर बिक्री गर्न नपाएका हुन् ।

एक जना लगानीकर्ता र एक ब्रोकरले राखेको समस्याका सम्बन्धमा खोजी गर्दा अरु लगानीकर्ताहरुले पनि डिम्याट खातामा शेयर जम्मा भईसकेको अवस्थामा सोमबार शेयर बिक्री गर्न नपाएको भेटिएको हो । अरु ब्रोकरमा पनि आइतबार जम्मा भएको शेयर बिक्री गर्न नपाएको गुनासो सहितका फोनहरु लगानीकर्ताबाट आएको ब्रोकरहरुले नोटबजारलाई बताए ।

किन हुन्छ यस्तो ?

सामान्यतया लगानीकर्ताको डिम्याट खातामा शेयर जम्मा भएको दिन अनलाइन कारोबार प्रणाली टीएमएसले मौज्दात शेयरको विबरण देखाउँदैन । लगानीकर्ताको डिम्याट खातामा शेयर जम्मा भएको दिनको अन्त्यमा टीएमएसले सिडिएससीबाट डाटा तानेर मौज्दात शेयर रुजु गर्छ र भोलिपल्ट मात्र टीएमएसमा शेयरको मौज्दात देखाउने गरेको छ । अर्थात आज डिम्याट खातामा शेयर जम्मा भएको खण्डमा त्यस्तो शेयर भोलि मात्र बिक्री गर्न मिल्छ, तर निर्धारित समयमा टीएमएसले मौज्दात शेयरको डाटा स्वाप गरेको खण्डमा मात्र ।

आइतबारको हकमा पनि शेयर ब्रोकरहरुले लगानीकर्ताहरुको शेयर डिम्याट खातामा जम्मा गराए । उता टीएमएसले पनि ब्रोकरहरुबाट गएको विबरण सिडिएससीको प्रणालीमा म्याच गराएर टीएमएसमा मौज्दात गरायो । तर साँझ ७ बजे पछि शेयर ब्रोकरहरुले लगानीकर्ताको खातामा जम्मा गरेको शेयरको डाटा भने आइतबार साँझ टीएमएसले म्याच गर्न सकेन र उक्त शेयर सोमबार डिम्याट खातामा जम्मा भएको सूचीमा पर्यो ।

लगानीकर्ताबाट शेयर बिक्री गर्न नमिलेको गुनासो आएको मध्येका एक ब्रोकरले धेरै लगानीकर्ताको शेयर डिम्याट खातामा जम्मा गर्ने क्रममा केही लगानीकर्ताको ७ बजे पछि परेकाले सोमबार टीएमएसमा नदेखाएको हुन सक्ने बताए ।

उता अनलाइन कारोबार प्रणाली निर्माण गरेको वाइको प्रालिले पनि हरेक दिन साँझ ६ देखि ७ बजे भित्रमा लगानीकर्ताको डिम्याट खातामा मौज्दात भएको शेयर बिवरणलाई टीएमएसले स्वाप गर्ने गरेको जनाएको छ । वाइकोका प्रमुख कार्यकारी अधिकृत दीपेश प्रधानले नोटबजारसँगको कुराकानीमा केही लगानीकर्ताको शेयर मात्र आइतबार डिम्याट खातामा जम्मा भएर पनि सोमबार कारोबारमा आउन नसकेको हुन सक्ने बताए ।

उनका अनुसार विगतमा दिउँसो ३ बजेदेखि नै टीएमएसले सिडिएससीको डाटा स्वाप गर्ने गरेकोमा अहिले कारोबार संख्या बढेका कारण साँझ ६ देखि ७ बजेसम्ममा डाटा स्वाप गर्ने काम पुरा भईसक्ने गरेको छ । डाटा स्वाप भएको समयभन्दा पछि मात्र शेयर ब्रोकरहरुले लगानीकर्ताको डिम्याट खातामा शेयर जम्मा गराएकाले आइतबार जम्मा भएको शेयर सोमबार कारोबारमा आउन नसकेको उनको भनाई छ । नत्र आइतबार डिम्याट खातामा शेयर जम्मा भएका सबै लगानीकर्ताले सोमबार शेयर बिक्री गर्न नपाउनु पर्नेमा त्यस्तो नभएको बताउँदै उनले रापसाफ र शेयर जम्माको काम समयमा नै गरिदिन ब्रोकरहरुलाई आग्रह गरेका छन् । आइतबार साँझ डाटा स्वापभन्दा पछि जम्मा भएका शेयर सोमबार साँझ मात्र स्वाप हुने र मंगलबार मात्र कारोबारयोग्य हुने पनि प्रधानले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।