कोरोना कहरले थिचिएको युनिलिभर तंग्रिन अझै संघर्षरत

0
Shares

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन जारी गरिएपछि खस्किएको युनिलिभरको व्यापार अझै लयमा फर्कन सकेको छैन्। कम्पनीको व्यापार खुम्चिदा नाफा समेत उच्चदरले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको नाफा साढे ४४ प्रतिशत कम हो । गत आवको पुससम्म कम्पनीले २३ करोड ७५ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा १० करोड ६० लाखले घटेको हो ।

कोरोना नियन्त्रणका लागि गत चैत्रमा लकडाउन जारी भएपछि कम्पनीको व्यापार निरन्तर खस्किदै आएको छ। अहिले जनजिवन सामान्यकरणतर्फ जाँदा समेत कम्पनीको व्यापार पूर्ववत अवस्थामा पुग्न सकेको छैन्। कम्पनीको बिक्री आम्दानी मात्र होइन अन्य आम्दानी समेत खुम्चिएको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३९ करोड ३७ लाख रुपैयाँले घटेको छ । यस अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर एक अर्ब १७ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब ५६ करोड ९९ लाख आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी समेत २ करोड २४ लाख कम छ ।

कम्पनीको व्यापार खुम्चिदा उत्पादन लागत घटेकाले खर्च पनि घटेको छ । कम्पनीको कच्चापदार्थ वापतको खर्च २० करोड ६६ लाखले घटको छ । गत आवको यसै अवधिमा ८४ करोड २ लाख कच्चापदार्थमा खर्च गरेकोमा चालु आवको पुससम्म ६३ करोड ३६ लाख खर्च गरेको छ । कम्पनीको कर्मचारी र अन्य खर्च पनि घटेको छ ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ४१ करोड ४१ लाख रुपैयाँ घटेको छ । कुल खर्च समेत २५ करोड ८८ लाख रुपैयाँले घटेको छ ।

कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी ९७२ रुपैंयाँबाट घटेर १३७ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि २ हजार ३१६ रुपैयाँ छ ।

९ करोड २१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ छ । सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ हजार ७ सय हाराहारी छ । कम्पनीको मूल्य आम्दानी अनुपात १४४.०९ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।