अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट निमार्णमा जुटेको छ । जसका लागि मन्त्रालयले बुधबार पूर्व अर्थसचिवहरुलाई छलफलमा बोलाएको छ ।
अर्थ मन्त्रालयका एक अधिकारीहरुका अनुसार आगामी बजेट निमार्णको तयारीका लागि सबै पूर्व अर्थसचिवहरुलाई छलफलमा बोलाइएको छ । सचिवहरुसँगको छलफलपछि अर्थले अन्य सरोकारवालहरुसँग पनि क्रमश छलफल गर्दै जाने बताएको छ ।
पूर्व अर्थसचिवहरुलाई छलफलमा डाक्नु अगाडि अर्थमन्त्रालयले सातै प्रदेशका आर्थिक मामिला सचिवहरुसँग एक चरणको छलफल गरिसकेको पनि ति अधिकारीले जानकारी थिए ।
अर्थमन्त्रालयले आगामी बजेट निमार्णको लागि छलफल प्रारम्भ गरेपनि राष्ट्रिय योजना आयोगले अहिलेसम्म बजेटको सिलिङ तोकेको छैन् । कानुनत आयोगले माघ १५ गतेभित्र बजेटको सिलिङ अर्थ मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने भएपनि अहिलेसम्म सिलिङ निर्धारण नभएको आयोगका एक अधिकारीले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षामा चालु बजेटको आकार घटाएकाले आउँदो वर्षको बजेटको सिलिङ समेत धेरै नहुने जानकारहरु बताउँछन् । सरकारले चालु बजेटको आकार एक खर्ब ३० अर्ब घटाएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको थियो । सरकारले करिब ९ प्रतिशतले बजेटको आकार घटाएको हो ।
यसमा प्रतिनिधि सभा निर्वाचनको खर्च, कोभिड विरुद्धको खोप खर्च, अनिवार्य दायित्व तथा पूर्व सहमति दिएका ठूला आयोजनाहरुको दायित्वहरु समेत समावेश रहेका छन् ।
अर्थ मन्त्रालयले माघ २७ गते चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षा गरिसकेको छ। नेपाल राष्ट्र बैंकले पनि ६ महिनाको आर्थिक स्थिति एवं चालु वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरिसकेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया