मझौला वाणिज्य बैंकको शेयर मूल्य आकाशिँदा झण्डै दोहोरो अंकले बढ्यो बजार


बुधबार शेयर बजारमा मझौला वाणिज्य बैंकहरुको शेयर मूल्यमा अधिक सुधार देखिएको छ । हकप्रद निष्काशनको चर्चामा रहेका साथै साना कम्पनीहरुको शेयरमूल्य धेरै बढेको बजारमा ८ अर्ब बढीको शेयर कारोबार भएको छ ।

वाणिज्य बैंक समुहमा झण्डै ४० अंकको सुधार आउँदै गर्दा अरु उपसमुहहरुमा आएको गिरावटले समग्र बजार परिसुचक भने ९.९४ अंकले मात्र उकालो लागेको छ । बुधबारको वृद्धिसँगै बजार परिसुचक नेप्से २६११.४५ अंकमा उक्लिएर नयाँ उचाई कायम गरेको छ । यस क्रममा सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले बढेर ४७५ अंकमा उक्लिएको छ ।

बुधबार वाणिज्य बैंक समुहमा ३९.७७, व्यापारमा ५९.०६, अन्यमा १०, विकास बैंकमा ३.५६ र सामुहिक लगानी कोषमा ०.५६ अंकले वृद्धि भएको बजारमा अरु सबै उपसमुहमा गिरावट आएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमुहमा सबैभन्दा धेरै गिरावट आएको बजारमा उत्पादन, लघुवित्त, होटल, जलविद्युत र वित्त उपसमुहमा गिरावट आएको हो ।

आइतबारदेखि कारोबारमा आएको नेपाल पुर्वाधार बैंकको शेयर मूल्य अधिक वृद्धि हुनेको सूचीमा पहिलो स्थानमा छ । कारोबारमा आएको शेयर संख्याका आधारमा शीर्ष २ मा परेको यस कम्पनीको शेयर कारोबार संख्या र कारोबार रकमका आधारमा पहिलो स्थानमा छ । यस क्रममा बैंकको १३ लाख ९७ हजार कित्ता शेयर झण्डै ७ करोड रुपैंयामा किनबेच भएको छ ।

कर्पोरेट डेभलपमेण्ट बैंक, हिमालयन उर्जा विकास कम्पनी, समृद्धि फाइनान्स, सनराइज बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, शिवश्री हाइड्रो, नेपाल बंगलादेश बैंक, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीको शेयर मूल्य धेरै बढेको छ ।

सनराइज म्युचुअल फण्डका ईकाईको मूल्यमा सबैभन्दा धेरै गिरावट आएको बजारमा इन्फिनिटी लघुवित्त, वरुण हाइड्रो, किसान लघुवित्त लगायत कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।