इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी पाँडेको बुझाईमा नेपालको शेयर बजार ‘लेट्स प्ले स्टक मार्केट’


पछिल्ला दिनहरुमा बजार निरन्तर उकालो लागिरहेको छ । प्रत्येक दिन नयाँ उचाईमा पुग्दै गर्दा बजारमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य पनि एक पछि अर्को गर्दै उकालो लागिरहेको छ । तर बजारमा कारोबार भईरहेको कम्पनीहरुको शेयर मूल्य वास्तविक नभएको नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको बुझाई छ ।

नोटबजारसँग अन्तरवार्ताका दौरान बैंकका अध्यक्ष पाँडेले कम्पनीहरुको अवस्था अनुसार शेयर मूलय निर्धारण नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अन्य मुलुकमा कम्पनीको वित्तीय अवस्था प्रक्षेपण गरिए पछि त्यसैका आधारमा बजारले कम्पनीको शेयर मूलय निर्धारण गर्ने र प्रक्षेपण नमिलेको खण्डमा मूल्य घट्ने गरेको उनले बताए । हामीकहाँ भने प्रक्षेपण नभई पहिले नै कम्पनीको आधिकारिक सूचना चुहाएर अस्वभाविक चलखेल धेरै हुने गरेको उनले बताए । यसबाट साना तथा नवप्रवेशी लगानीकर्ता जोखिममा पर्ने उनको बुझाई छ ।

“म आफु कहिल्यै पनि दोस्रो बजारमा कारोबार गर्ने मान्छे होइन । तर बजारका सम्बन्धमा केही जानकारी राख्छु । अहिलेको बजारमा धेरै कम्पनीको शेयर मूल्य अस्वभाविक अवस्थामा छ भने अरु धेरै कम्पनीहरुको शेयर मूल्य अवमूल्यनको अवस्थामा छ” पाँडेले भने ।

“अहिले बैंकको व्याजदर घट्नु अनि तरलता भएको अवस्थामा लगानीका अन्य क्षेत्रहरु छैनन् । अब यस्तो बेलामा मान्छेले सोच्ने के हो भने लेट्स प्ले स्टक मार्केट” पाँडेले भने ।

अहिले बजारमा साना र नयाँ लगानीकर्ताको दवदवा बढेको बताउने उनी सुरक्षित किसिमले लगानी गर्न सुझाउँछन् । क्षणिक कमाईको चक्करमा अहिलेका साना र नयाँ लगानीकर्ताले एउटा विन्दुमा पुगेर गुमाउनु पर्ने अवस्था आउन सक्छ, यसमा सचेत भएर लगानीको निर्णय गर्नु पर्छ ।

बाहिरका बजारमा साना लगानीकर्ताहरुको बजार प्रवेशले संस्थागत र ठूला लगानीकर्ताहरुको निर्णय गलत हुँदा ठुलो रकम गुमाएको र साना लगानीकर्ता त्यसबाट लाभान्वित भएको बताउने पाँडे आधारभुत विष्लेषण गरेर मात्र लगानीको निर्णयमा पुग्न लगानीकर्तालाई सुझाव दिन्छन् । शेयर मूल्य कम्पनीको अवस्थाका आधारमा नभई खेलाडीहरुको चालमा चलिरहेको बताउने उनी एक नासका र उस्तै वित्तीय अवस्था रहेका बैंकको मूल्य तुलना गर्न लगानीकर्तालाई आग्रह गर्छन् ।

पाँडेसँगको अन्तरवार्ता बिहीबार साँझ नोटबजारमा प्रकाशित हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।