हवाई भाडा ९० रुपैयाँसम्म बढ्यो


हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेको भन्दै हवाई भाडा ९० रुपैयाँसम्म वृद्धि गरेको छ । संघले न्यूनतम १० रुपैयाँ देखि ९० रुपैयाँ सम्म बढाएको हो ।

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ ।

निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडाँै–धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपौयँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।