शेयर बजारमा जोखिम व्यवस्थापन अर्थात सुरक्षित लगानीका लागि जान्नैपर्ने न्युनतम उपायहरु

0
Shares

 

शेयर बजारमा नयाँ प्रविधिहरु भित्रदै आएपछि बजारको पहुँच आम लगानीकर्तासम्म पुगेको छ । जसले गर्दा पछिल्लो समयमा शेयर बजारमा लगानीगर्नेहरु क्रमश बढ्दै गएका छन् ।

पछिल्लो चरणमा निष्कासन भएका साधारण शेयर प्राप्त गरेका लगानीकर्ताहरु दोस्रो बजारमा समेत प्रवेश गर्न थालेका छन् । घरघरबाटै शेयर किनबेच गर्न सकिने अवस्था आएपछि शेयर लगानीकर्ताहरुको संख्या पनि क्रमश थपिदै गएको छ । यसले बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश भइरहेको भन्ने देखिन्छ । शेयर बजारमा सहज तरिकाले फस्ने भनेकै नयाँ लगानीकर्ता बढी देखिन्छन् । यसकारण लगानी पूर्व केहि रणनीतिक योजनाहरु बनाउन जरुरी रहन्छ ।

शेयर बजारमा विचार पुर्याएर गरिएकोे लगानीबाट छोटो समयमै राम्रो आम्दानी गर्न सकिन्छ भने ध्यान पुर्याउन नसकिएमा छोटो समयमै गुमाउन पनि सकिन्छ । यो एक जोखिमको क्षेत्र पनि हो । तर, जोखिम व्यवस्थापन अर्थात सुरक्षित लगानीका उपायहरु अबलम्वन गरेमा शेयर बजारबाट राम्रै प्रतिफल लिन पनि सकिन्छ ।

लगानीकर्ताहरुले लगानी रणनीति बनाउने पहिलो आधार भनेको कम्पनीहरुको वित्तीय विवरणको अध्ययन नै हो । शेयर बजारमा सूचीकृत हरेक समूहका कम्पनीहरुको वित्तीय विवरण फरक फरक हुन्छ । बीमा कम्पनीहरुको वित्तीय विवरण प्रस्तुत गर्ने शैली, बैंकहरुको वा जलविद्युत् कम्पनीको सबैको आ-आफ्नै किसिमका हुन्छन् । तर, सबै कम्पनीहरुले केही समान किसिमका वित्तीय सूचकहरु दिएको पाइन्छ । यी सूचक शेयर लगानीकर्ताको लागि लगानी रणनीति बनाउन उपयोगि हुनसक्छन् ।

कम्पनीहरुको वित्तीय विवरण अध्ययन गरेर लगानी गर्नु सबैभन्दा भरपर्दो रणनीति हुनसक्छ । वित्तीय विवरणमा कम्तिमा कम्पनीको विगत तीन वर्षयताको प्रगति विवरण हेर्न सकिन्छ । कम्पनीले निरन्तर नाफा बढाउँदै लगेको छ भने त्यो कम्पनी लगानीका लागि उपयुक्त हुनसक्छ । प्रतिशेयर आम्दानी बढ्दै गए, बजार मूल्य पनि बढ्दै जाने तथा प्रतिशेयर आम्दानी घट्दै गए बजार मूल्य पनि घट्दै जाने भएकाले यसबारेमा सचेत रहनुपर्दछ ।

राम्रो लाभांश प्रदान गर्ने कम्पनीमा गरिएको लगानी सुरक्षित रहन्छ । यसका विगतमा कुन मात्रामा लाभांश दिएका थिए भन्ने अध्ययन जरुरी रहन्छ । स्थिर वा बढोत्तरी लाभांशले कम्पनीको नगद प्रवाह राम्रो छ र यसको प्रतिफल भविष्यमा राम्रो हुनेछ भन्ने विश्वास दिलाउँछ । कतिपय कम्पनीले प्रतिशेयर आम्दानी बढी नै गरे पनि लाभांश वितरणमा कञ्जुस्याई गर्ने गरेको पनि भेटिन्छ ।

कुनै पनि कम्पनीमा लामो द्धिर्घकालिन लगानीका लागि त्यस कम्पनीको भावी योजनाहरु बारेमा पनि जानकारी राख्नुपर्छ । लगानी गर्नुअघि कम्पनीको लगानी कुन क्षेत्रमा कति लागेको छ, त्यसको प्रतिफल आउन सम्भावित कति समय लाग्छ र आफू बजारमा कति समय रहिन्छ भन्ने बारेमा अध्ययन आँकलन गरी लगानी गर्न सकिन्छ ।

आफूले लगानी गर्न लागेको कम्पनीको अवस्थासँग अन्य सोही प्रकृतिका कम्पनीहरुको मूल्य आम्दानी अनुपातलाई ध्यान दिनुहोस् । नाफालाई मात्र होइन, मूल्य आम्दानी अनुपातलाई तुलना गरी शेयर खरिद गर्न सकिन्छ । कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्न सकिन्छ ।

पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राखेमा लाभादायक हुनसक्छ । यसले बजारको बारेमा दैनिक जानकारी हुन्छ भने लगानीको निर्णय गर्न पनि सहयोग पुर्याउन सक्छ ।

कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशील सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत जानकारी लिन सकिन्छ ।कम्पनीहरुले प्रकाशित गर्ने यस्ता सूचनाहरु शेयर खरीद बिक्रीको निर्णय गर्नका लागि महत्वपूर्ण औजार मानिन्छन् ।

धितोपत्रमा गरिने लगानीको जोखिम लगानीकर्ता स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुनै उपयुक्त हुनजान्छ ।

आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न जरुरी रहन्छ । शेयर खरीद गरिसकेपछि बिक्री गर्ने उपयुक्त अवसर समेत थाहा पाउनुपर्छ । खरीद गरेको शेयर उपयुत्त समयमा बिक्री गर्न सकिएन भने त्यसबाट लिन सकिने लाभ नपाउन पनि सकिन्छ । यसका लागि आफुले शेयर किनेको कम्पनीको गतिविधिबारेमा अपडेट भैरहनुपर्छ ।

धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा राख्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फागुन २०७७, आइतबार  ०८ : १९ बजे