शिखर इन्स्योरेन्सले लाभांश पश्चात शेयरधनीलाई ३०% लगानी थप्न लगाउने

0
Shares

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश वितरण गरे पश्चात शेयरधनीहरुलाई ३० प्रतिशत लगानी थप्न लगाउने भएको छ । साथै इन्स्योरेन्सले संस्थापकको हिस्सा घटाएर साधरण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ।

शिखरले लाभांश, हकप्रद तथा शेयर संरचना परिमार्जन लगायतका प्रस्ताव पारित गर्न चैत ९ गते १५ औं र १६ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभा इन्स्योरेन्सको कार्यालय स्थित सभाहलमा साधारणसभा बिहान ११ बजे बस्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कर प्रयोजनका लागि १.४६२ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीबाट ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव साधारण सभामा लग्ने भएको छ ।

हकप्रद शेयर निष्कासनसँगै शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ नाघ्ने भएपछि शिखरले सोही साधारणसभाबाट अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ ।

शिखरले यसअघि पनि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । साथै सो साधारणसभामा ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा रुपान्तरण गरेर संस्थापक तथा साधारणको शेयर अनुपात ६०ः४० बाट ५१ः४९ बनाउने प्रस्ताव समेत राखेको छ । शेयर अनुपात परिमार्जन गर्दा शिखरको करिब १६ लाख कित्ता संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस पछि कायम पूँजीमा  शेयर संरचना अनुपात रुपान्तरण गर्ने जनाएको छ ।

कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोजको मिति तोकेको छ । फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फागुन २०७७, आइतबार  ०८ : ४९ बजे