आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, निगमको पाक्षिक नोक्सान डेढ अर्ब


इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले सोमबार (मार्च १) गतेदेखि लागु हुने गरी मूल्य बढाएर नयाँ मूल्य पठाएको हो ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैंया २० पैसा, डिजेलमा ४ रुपैंया ७ पैसा, मट्टितेलमा ४ रुपैंया ६५ पैसा, हवाई इन्धनमा ४ रुपैंया ६ पैसा तथा प्रति सिलिन्डर ग्यासमा ९१ रुपैंया ९६ पैसाले मूल्य बढेको छ ।

गत फेब्रुअरी १६ मा तोकिएको मूल्यसूची अनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैया, बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरिएको छ ।

यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा अब नेपाल आयल निगमलाई पाक्षिक रुपमा १ अर्ब ५४ करोड रुपैयाँ नोक्सान हुने अवस्था उत्पन्न भएको नेपाल आयल निगमले जनाएको छ ।

मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड नोक्सान : निगम

हाल कायम स्वचालित मूल्य प्रणाली अनुसार निगम व्यवस्थापनले हरेक १५ दिनमा एकपटक मूल्य समायोजन गर्न पाउँछ । सो अवधिका लागि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २ प्रतिशत र खाना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाउन पाउँछ ।

स्वचालित मूल्य प्रणाली अनुसार मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमा सवा अर्ब रुपैयाँ भन्दा बढी नोक्सान हुने निगमको भनाई छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगम व्यवस्थापनसँग भएको अधिकार प्रयोग गरेर मूल्य बढाउँदा पनि १ अर्ब २७ करोड रुपैयाँ नोक्सान हुने बताए ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैंया ६ पैसा, डिजेलमा ८ रुपैंया २२ पैसा नोक्सान हुन्छ । आन्तरिक हवाई उडानको इन्धन बिक्रीमा पनि यसपटक नोक्सानी हुन थालकोे निगमले जनाएको छ । अहिलेकै मूल्यमा बिक्री गर्दा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ रुपैंया ९३ पैसा नोक्सान रहेको निगमको भनाई छ । खाना पकाउने ग्यासको नोक्सान बढेर प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा पुगेको निगमले जानकारी दिएको छ ।

अहिले मट्टितेल र बाह्य हवाई उडानमा प्रयोग हुने इन्धनको बिक्रीमा भने निगम नाफामा छ । मट्टितेलमा १७ रुपैंया ४२ पैसा नाफा छ भने बाह्य हवाई इन्धनमा ३१ रुपैंया ६४ पैसा नाफामा रहेको निगमले जाकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।