नेपाल उद्योग परिसंघ(सीएनआई)ले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेको छ । सोमबार सीएनआइको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी ‘मेक इन नेपाल(स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको हो ।
आज परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी गराएका थिए । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए ।
सीएनआइको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवम् उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए । यस अभियानमा सरकाले स्वमित्व बोधगरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा राखे ।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले तयार गरेको स्वदेशी लोगोलाई नेपाल सरकारले स्वामित्व लिई तुरुन्त यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । यो लोगो परिसंघ, निजी क्षेत्र, सरकार विशेषको नभई देशकोनै हुनु पर्ने माग राखे । यसकोलागि संयुक्त प्रयास र सहभागिता हुनु पर्ने उनको धारणा थियो ।
मन्त्रीसँगको छलफलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले परिसंघले अगाडि सारेको अवधारणा केहि महत्वकांक्षी देखिए पनि परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बलाई बढी प्राथमिकतामा राखेको बताए ।
विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने महान लक्ष्य लिएको छ । परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४।३ अर्ब डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने बताए ।
सो अवसरमा अर्थमन्त्री पौडेलले परिसंघले अगाडि सारेको अवधारणा राम्रो रहेको बताउँदै समग्र राष्ट्रिय आवश्यकतालाई महशुस गरी यसलाई व्यवहारिक बनाउनको लागि अन्तरसंवादलाई निरन्तरता दिनु पर्ने धारणा राखे । यस अभियानमा निजी क्षेत्र, सरकारको प्रशासनिक संयन्त्र र राजनीतिक क्षेत्रसँग पनि अन्तर सम्बाद गरी सम्बन्धलाई विश्वासिलो र परिपूरक बनाउनु पर्ने बताए ।
आगामी बजेटमा यसलाई मूर्तरुप प्रदान गर्नको लागि सरकारको तर्फबाट आवश्य सहयोग उपलब्ध गराउने धारणा राखे । अर्थमन्त्री पौडेलले यो अभियानमा प्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु र नीजि क्षेत्रका अन्य संघसंस्थाहरुलाई पनि सँगै लिएर अगाडि बढ्नु पर्ने विचार व्यक्त गरे । छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु क्रमशः राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया