शेयरको क्रेज बढेपछि स्थानीयस्तरमा पनि सजिलै बिक्री हुन थाल्यो आईपीओ

0
Shares

शेयर बजारको क्रेज गाउँगाउँसम्म पुगेपछि पछिल्लो समयमा स्थानीयस्तरमा निष्काशन भएका आईपीओहरु सजिलै बिक्री हुन थालेका छन् । विगतका वर्षहरुमा स्थानीयस्तरमा जारी गरिएका शेयर बिक्री गर्न कम्पनीहरुलाई निकै सकस हुने गरेको थियो ।

पछिल्लो समयमा प्राथमिक निष्काशनहरु बढ्दै गएको र दोस्रो बजारमा समेत शेयर बजार ऐतिहासिक बिन्दुमा पुगेको अवस्थामा गाउँगाउँमा शेयर सम्बन्धि जानकारीहरु पुग्दा आईपीओ भर्नेहरु बढेका छन् । केहि वर्षअघि स्थानीयस्तरमा निष्काशन भएका आईपीओहरु बिक्री नहुने गरेकोमा पछिल्लो समयमा निष्काशन भन्दा बढी माग आउने गरेको छ ।

गत माघमा स्थानीयलाई शेयर निष्काशन गरेको सिंगटी हाइड्रोको शेयरमा पनि निष्काशन भन्दा बढी माग आएको थियो । यस्तै रुरु हाइड्रोको आईपीओमा पनि माग भन्दा बढी आवेदन परेपछि छोटो अवधिमा नै बिक्री बन्द हुने भएको छ।

रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि जारी गरेको प्राथमिक शेयरको बिक्री आज बैंकिङ समयपश्चात बन्द हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको थियो ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा गुल्मीका स्थानीय बासिन्दाका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरेको छ ।

उक्त शेयरमा फागुन ७ गतेदेखि छिटोमा २१ गतेसम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ । कम्पनीको आइपीओमा आवश्यक आवेदन परेपछि छिटो अवधिमा नै बिक्री बन्द हुन लागेको हो ।

स्थानीयहरुले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गुल्मीका विभिन्न शाखा कार्यालय, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गुल्मी शाखा कार्यालयहरुबाट आवेदन दिन सक्छन् । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि-आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँको २० प्रतिशत शेयर जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत शेयर स्थानीय बासिन्दाका लागि र १० प्रतिशत शेयर सर्वसाधारणमा जारी हुनेछ ।

आइपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड-३ रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओले पाएको ग्रेड ३ रेटिङले कम्पनीको वित्तीय अवस्था अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कम्पनीले आइपीओ निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार २५ गते निवेदन दिएको थियो । आवेदन दिएको ७ महिनामा कम्पनीले शेयर जारी गर्न अनुमति पाएको हो ।

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि २०७५ माघ २२ देखि फागुन २७ गतेसम्म १८ लाख कित्ता शेयर जारी गर्दा १ लाख ३ हजार ६०० कित्ता शेयर मात्र बिक्री भएको भएको थियो । स्थानीय बासिन्दालाई निष्काशन गरेको शेयर १६ लाख ९६ हजार ४०० कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएको १८ लाख कित्तामा थप गरी २०७७ माघ २३ देखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयर फागुन ७ गते बाँडफाँड भएपनि सूचीकरणको अन्तिम चरणमा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।