अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स घोटला प्रकरणमा ४० करोड बिगो दाबीगरी एघार वटा आरोप पत्र दायर गरेको छ ।
आयोगले रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र सो फाइनान्स समेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्ज भएको) मा नागरिक लगानी कोषको तर्फबाट संचालकमा नियुक्त भै गएका छविरमण अधिकारी सहित अन्य झण्डै दुई दर्जन व्यक्ति विरुद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेको हो। एनसीसी बैंकले एपेक्सलाई खरीद गरिसकेपछि ऋण हिनामिना गरेको देखिएपछि मर्जर प्रक्रिया नै स्थिगित गर्नेसम्मको अवस्थामा पुगेको थियो।
अधिकारी संचालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृया विपरीत कर्जा प्रवाहमा संलग्न भएकोले निजउपर कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका संचालकहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरेको आयोगको ठहर छ ।
उनीहरु विरुद्ध आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको पुष्टि हुन आएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुप जरिवाना तथा कैदसमेत मागदाबी गरी आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।
धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि हुन आएको भन्दै इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.का. अख्तियार प्राप्त ऋणी मनोज कुमार भेटवाल, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका प्रबन्धक विकास श्रेष्ठ, सहायक महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्य, बरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, र अधिकृत प्रमोद भट्टराई सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको भन्दै उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले सोही प्रकृतिका ११ वटा आरोपपत्र मंगलबार दर्ता गराएको जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया