बजेट निमार्णका लागि सरकारले सरोकारवालाहरुसँग माग्यो सुझाव

0
Shares

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि सरोकारवालासँग सुझाव मागेको छ ।

सरकारले बजेट मार्फत मार्फत राजस्वका दर, नीति तथा प्रक्रियागत सुधारका लागि सम्बन्धित संघसंस्था, बुद्धिजीवी तथा सरोकारवालाहरुबट सुझाव माग गरेको हो ।

आगामी बजेट तर्जुमा गरिरहेको सरकारले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग , अर्थको गैरकर राजस्व उपसमिति आदी मार्फत कर नीति, दर, प्रक्रिया तथा राजस्व सुधारका लागि सुझाव दिन आह्वान गरेका हुन् ।

सुझावमा बजेटमा पुनरावलोकन हुनुपर्ने, थपघट तथा समेटिनुपर्ने दर तथा नीति एवं प्रक्रिया, गैरकर राजस्व प्रणालीमा गर्नुपर्ने नीतिगत र कानुनी सुधार, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क आदीमा सुझाव दिन माग गरिएको छ । सुझावहरु फागुन मसान्त वा चैतको पहिलो साताभित्र उपलब्ध गराउन आग्रह गरिएको छ ।

आर्थिक वर्ष २०७८।७९ बजेट लेख्नका लागि अर्थ मन्त्रालयले मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन टोली गठन गरिसकेको छ ।

मस्यौदा लेखन टोलीमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र मन्त्रालयका प्रवक्ता समेत रहेका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेट सिलिङ दिएकाले बजेट मस्यौदा लेखन टोलीले सो सीमाभित्र रहेर नीति तथा कार्यक्रमको तयारी, विभिन्न मन्त्रालयहरुसँग छलफलबाट सरकारी नीति, राष्ट्रिय नीति तथा दीर्घकालीन योजनालाई आधार मानेर विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फागुन २०७७, बुधबार  १० : ३७ बजे