नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा ३९ वटा कम्पनी मात्र अटाएका छन्।
नेप्सेमा २ सय बढी कम्पनी सूचीकृत रहेकोमा नेप्सेले नागरिक स्टक डिलर कम्पनीका लागि कारोबार योग्य कम्पनीको सूचीमा ३९ मात्र छनौट गरेको छ । जसमा २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक,४ वटा लघुवित्त, अन्य समूहमा सूचीकृत नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटल मात्र छनौट भएका छन् ।
नेप्सेका अनुसार धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारिएको हो । कार्यविधि अनुसार अहिले ३९ कम्पनी स्टक डिलरको कारोबार योग्य सूचीमा परेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । कार्यविधिमा तोकिएको मापदण्ड अनुसार प्रत्येक वर्ष कारोबार योग्य कम्पनीहरुको सूची अद्यावधिक गर्दै लगिने पनि उनले बताए ।
धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार स्टक डिलरको कारोबार योग्य कम्पनी लागि विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको हुनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । त्यस्तै विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनेपर्ने व्यवस्था छ ।
स्टक डिलर कम्पनीको कारोबार योग्य सूचीमा बीमा समूहका कुनै पनि कम्पनी परेका छैनन् । लघुवित्त समुहका चार कम्पनी मात्र परेका छन् । व्यापार समूहका कम्पनी यो सूचीमा नपर्दा होटल्स तथा पर्यटन समूहको तारागाँउ रेजन्सी होटल मात्र परेको छ । विकास बैंक समूहका पनि ७ वटा कम्पनी मात्र परेका छन् । जलविद्युत र फाइनान्स समूहका एउटा पनि कम्पनी कारोबार योग्य सूचीमा परेनन्। अन्य र इन्भेष्टमेन्ट समूहका कम्पनीका शेयर पनि तत्काललाई स्टक डिलर कम्पनीले किनबेच गर्न नपाउँने देखिएको छ ।
शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।
नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी संचालन गरिएको हो। स्टक डिलरको प्रवेशले पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर छ । कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी छ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया