लक्ष्यभन्दा बढी राजस्व असुल्न अर्थमन्त्रीको निर्देशन, फागुनसम्ममा ६ खर्ब ३ अर्ब


अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको लक्ष्य भन्दा धेरै राजस्व संकलन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । पर्यटन बाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्दै अर्थमन्त्री पौडेलले लक्ष्य भन्दा बढीको परिणाम निकाल्न निर्देशन हुन ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को फगुनसम्ममा बार्षिक लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन गरेको छ । २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको हो ।

२०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो । चालु आवको फागुनसम्मको लक्ष्यको तुलनामा भने ९७. ८० प्रतिशत राजस्व संकलन गरेको जानकारी दिइएको हो ।
अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २ं७७८/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीचमा राजस्वको लक्ष्य पुरा हुनेमा दुविधा नरहेको बताए । राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको भन्दै राजस्वको लक्ष्य नपुर्याउने छुट नभएको बताए

बैठकमा प्रस्तुत जानकारी अनुसार आर्थिक वर्ष २०७७÷७८ को फागुन महिनासम्ममा चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथिमकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको भन्दै खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको बताए ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको भन्दै सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामाना गर्नका लागि सहुलियत कर्जा, पुनर्कर्जा, व्यवसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याइएको भन्दै सबैको मेहनेतबाट उपलब्धीहरु हासिल भएको बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।