प्रविधिमा आधारित बैंकिङ कसुर नियन्त्रण गर्न कानूनी सुधार आवश्यक : गभर्नर


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको आधारित बैंकिङ कसुरको नियन्त्रण गर्न कानूनी व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन् । पछिल्लो समयमा बैंकिङ कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकको बैंकिङ कसुरको अनुसन्धान, अभियोजन तथा बैंकिङ सुपरिवेक्षण’ अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकिङ कसुर र सजाय सम्बन्धी कानुन जारी भएपछि कसुरजन्य क्रियाकलाप नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए । नयाँ प्रवृत्तिका कसुर नियन्त्रणका लागि विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा गभर्नर अधिकारीको रहेको छ ।

“सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन्,” गभर्नर अकिारीले भने,“तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन, त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।”

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने बताए । उनले राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्ने धारणा राखेक थिए । “विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ,” उनले भने ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने बताए । हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सृजना गरेको उनको भनाइ छ । सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा रोखका थिए ।  नेपाल राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक सुपरिवेक्षकको रूपमा नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । यस क्रममा उनले सुपरिवेक्षणको अवधारणा, कानूनी व्यवस्था, सुपरिवेक्षकीय अभ्यास र बैंकबाट भएका कारवाहीबारे जानकारी गराएका थिए ।

प्रहरी नायब महानिरीक्षक एवम्केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक सहकुल बहादुर थापाले बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अनुभव, समस्या तथा सुधार गर्नुपर्ने विषयहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले ब्यूरोबाट हुने बैंकिङ कसुरको अनुसन्धान प्रक्रिया, कसुरजन्य क्रियाकलाप, बैंकिङ कसुरको अनुसन्धानमा देखिएका समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहन्यायाधिवक्ता ध्रुवकुमार चौहानले ‘बैंकिङ कसुर तथा बैंकिङ सम्बन्धी अन्य प्रचलित कानुन अन्तर्गतका कसुरको अभियोजनसम्बन्धी अनुभव, सोमा देखिएका समस्या, गर्नुपर्ने सुधार र अन्तरनिकायगत समन्वय’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।