साढे ५ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति कुर्दै १५ कम्पनी

0
Shares

शेयर बजारमा क्रेज फर्किदाँ पछिल्लो समय शेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्न थालेको छ । सिडिएसएण्ड क्लियरिङ्गका अनुसार शुक्रबारसम्ममा शेयर आवेदनका लागि डिम्याट खोल्ने लगानीकर्ताको संख्या ३२ लाख ७२ हजार नाघेको छ भने प्राथमिक निष्काशनमा नै १९ लाख आवेदन पर्ने अवस्था आइसकेको छ ।

पछिल्लो समय हाइड्रोपावरको आईपीओबाट समेत लगानीकर्ताले राम्रो नाफा लिइरहेका छन् । प्रतिकित्ता १ सय रुपैयाँका दरले किनेको हाइड्रोपावरकोआईपीओ शेयर नै न्यूनतम ३०० देखि ७०० रुपैयाँसम्म बिक्री हुने अवस्था आएको छ भने चन्द्रागिरी हिल्सको प्रतिकित्ता २ हजार माथि पुगेको छ । यहि बेला नियामक निकाय धितोपत्र बोर्डमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न १५ कम्पनीले ५ अर्ब ५५ करोडको अनुमति मागेका छन् । ११ हाइड्रोपावर २ लघुवित्त र २ अन्य समहुका कम्पनीले शेयर जारी गर्न अनुमति माग गरको बोर्डले जनाएको छ ।

यतिबेला नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १५ कम्पनीले ५ अर्ब ५५ करोड ४२ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको ५ करोड ५५ लाख ४२ हजार ६८५ कित्ता आइपीओ निष्काशनका लागि अनुमति माग गर्दै निवेदन दिएका छन् ।

बोर्डका अनुसार ती कम्पनले सर्वसाधारण ३ लाख देखि अधिकतम १ करोड ५० लाख कित्तासम्म शेयर जारी गर्न अनुमति मागेका छन् । आठ कम्पनीको निवेदन पहिलो चरणमा छ भने ७ कम्पनीको निवेदनमाथि यस अघिदेखि नै छलफल भइरहेको छ ।

कुन कम्पनीको कति ?

१. साहस उर्जा लिमिटेड

निजी क्षेत्रबाट प्रवद्धित सबैभन्दा ठूलो आयोजना साहस उर्जाले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सर्वसाधरण शेयर जारी गर्ने भएको छ । आइपीओ निष्काशन गर्न कम्पनीले २०७७ मंसिर २४ गते बोर्डमा आवेदन दिएको छ ।

निष्काशित शेयरमध्ये ३५ करोड स्थानीय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निमार्ण गरिरहेको छ । परियोजनको काम ५७ प्रतिशत भन्दा बढी

सम्पन्न भएको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रबाट स्वदेशी लगानीमा निर्माणाधिन नेपालकै हालसम्मको ठूलो परियोजना हो । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथा बित्तीय संस्थाको ८.६५ अर्ब लगानीमा निर्माण हुदै छ । परियोजना निमार्णमा कुल लगात ११.८६ अर्ब लाग्ने अनुमान छ ।

२. सामलिङ पावर कम्पनी

सामलिङ पावर कम्पनीले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता सर्वसाधारण शेयर आइपीओ निष्काशन गर्ने भएको हो । यस कम्पनीको शेयर निष्काशन गर्न माघ ५ गते बोर्डसँग अनुमति मागेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनी भारती र सामलिङका सीईओ भानुभक्त पोखरेलले हस्ताक्षर गरेका छन् । सामलिङ पावर कम्पनीले ९.५ मेगावाटको माईवेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना डिसेम्बरसम्म सक्ने कम्पनीको लक्ष्य छ ।

३. बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी

यस कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले माघ ८ गते बोडमा अनुमति मागेको छ ।

कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गर्ने जनाएको छ ।

नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको शेयर जारी भएपछि चुक्ता पूँजी ४० करोड पुग्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

४. मनकामना स्मार्ट लघुवित्त

मनकामना स्मार्ट लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बोडसँग फागुन १४ गते आइपीओ जारी गर्ने अनुमति मागेको छ ।

यस लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जर भएको हो । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुगेको छ। सर्वसाधारणमा शेयर जारी गरेपछि संस्थाको कुल पूँजी १२ करोड ११लाख पुग्नेछ।

५. जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले बोडसँग फागुन १७ गते आइपीओ जारी गर्ने अनुमति मागेको छ ।

यस लघुवित्तको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक पनि एनएमबि क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीले शेयर जारी गर्न इक्रा नेपालबाट गराएको रेटिङ्गमा ‘इक्रा एनपि आईआर ट्रिपल बि’ इस्यूअर रेटिङ्ग पाएको छ । यसको अर्थ लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम किसिमको रहेको जनाउँदछ ।

यसअघि जीवन विकास, सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त गाभिएका थिए ।

६. सयपत्री हाइड्रोपावर

सयपत्री हाइड्रोपावर कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २० गते अनुमति मागेको हो ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबनधक एनआईबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावितका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख कित्ता र सर्वसाधारणका लागि २० प्रतिशत अर्थात ६ लाख आईपीओ निष्काशन गर्न लागेको हो ।

दरमखोला ए साना जलविद्युत आयोजनाले २०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।

७. बलेफी हाइड्रोपावर

बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सर्वसाधरण शेयर आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्न यस हाइड्रोपावरले नियामक निकाय धितोपत्र बोर्डसँग फागुन २५ गते अनुमति मागेको हो ।

बलेफी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९७० कित्ता शेयर सर्वसाधारणका लागिनिष्काशन गर्ने जानकारी दिएको छ । वाग्मती प्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युतआयोजनाअहिले निर्माणको चरणमा रहेको छ ।

आयोजनाको कम्पनीको कुल लागत ६ अर्ब ७८ करोड रहेको छ । जसको प्रति मेगावाट लागत १६ करोड ९० लाख रहेको छ । लगानीफिर्ता ८ वर्ष २ महिनामा हुने छ ।

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

आईपीओ शेयरमा एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सनराइज क्यापिटल लिमिटेड, हिमालयन क्यापिटल लिमिटेड र कुमारी क्यापिटल लिमिटेड प्रत्याभूतिकर्ता छन् ।

८. ग्रीन भेन्चर

ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले फागुन २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

यस कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहने छ ।

रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। कम्पनीका प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको छ ।

आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।

९. हिमालयन हाइड्रोपावर

हिमालयन हाइड्रोपावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । आइपीओ निष्काशनका लागि कम्पनीले २०७६ कार्तिक २७ गते अनुमति मागेको थियो ।

यस हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हालसम्म यस आयोजनाको ८० प्रतिशत बढी भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

१०. डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ निष्कासन गर्ने तयारिमा रहेको छ । सेबोनमा शेयर निष्काशनका लागि कम्पनीले असार ३० गते अनुमति मागेको हो ।  उक्त नेटवर्कको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

डिस होमले स्याटेलाइटका माध्यमबाट आफ्नै एक दर्जन च्यानलसहित करिब दुई सय च्यानलको सेवा यसले दिएको छ । डाइरेक्ट टु होम (डीटीएच) प्रणाली मार्फत यसको सेवा नेपालभर पुगेको छ । सन् २००९ मा सरकारबाट लाइसेन्स पाएको यो कम्पनीले औपचारिक सुरुवात भने सन् २०१० बाट गरेको हो ।

११. मैलुङ खोला जलविद्युत कम्पनी

मैलुङ खोला जलविधुत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ निष्काशनको तयारीमा रहेको छ । आयोजना प्रभावितका लागि दश प्रतिशत शेयर वितरण गरेको कम्पनीले सर्वसाधारणका लागि कूल शेयरको २० प्रतिशत शेयर जारी गर्न लागेको हो ।

स्थानीय बासिन्दाका लागि शेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न २०७४ असोज २० गते निवेदन दिएपनि अझै स्वीकृती पाएको छैन ।

यस जलविधुत कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

रसुवा जिल्लाको डाँडागाउँमा रहेको यो आयोजनाको ६ मेगावाट विद्युत उत्पादन क्षमता छ । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्येसंस्थापक र स्थानीय शेयरधनीबाट चुक्ता भईसकेको छ ।

१२. मध्य भोटेकोशी जलविद्युत कम्पनी

मध्य भोटेकोशी जलविधुत कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको छ । शेयर जारी गर्न २०७६ माघ १० गते निवेदन दर्ता गराएको कम्पनीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा रहेको छ ।

सो जलविधुत कम्पनिको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीका लागि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर बिक्री गरिसकेको छ ।

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएपनि अझै सकिएको छैन। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण लगानी गरेको छ ।

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत शेयर दिइनेछ ।

१३.न्यादी हाइड्रोपावर कम्पनी

न्यादी हाइड्रोपावर कम्पनीले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ निष्कासनको तयारीमा रहेको छ । आईपीऋो जारी गर्न कम्पनीले सेबोनमा मंसिर १० गते निवेदन दिएको हो ।

जसको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामास्थित ङादी खोलामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ ।

कम्पनीको जारी पूँजी १ अर्ब ५० करोडको १० प्रतिशतले १५ करोड बरावरको १५ लाख कित्ता सर्वसाधारण शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र जारी पूँजीको २ प्रतिशतले हुने मूल्य ३ करोड बराबरको ३ लाख कित्ता संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुका लागि र बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको गरी जम्मा ४० लाख ५० हजार कित्ता शेयर निष्काशन हुने बताइएको छ ।

१४. सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

सिइडिबि हाइड्रोपावर कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको छ । आईपीओ जारी गर्न कम्पनीले सेबोनमा २०७६ कार्तिक २५ गते आवेदन दिएको हो ।

यस कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनीको रुपमा सन् २०१० मा दोर्दी खोला जलविद्युत कम्पनी समेत स्थापना भएको छ ।

१५. बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

विन्देवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने लागेको छ । जसका लागि कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै २०७६ माघ १ गते सेबोनमा निवेदन दिएको हो ।

यस हाइड्रोपावर कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीले लमजुङ र कास्कीको सीमामा सञ्चालित ८.८ मेगावाटको रुदी खोला ‘ए’ र ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको शेयर निष्काशन गर्न लागेको हो ।निष्काशित शेयरमध्ये १० लाख कित्ता स्थानीय र बाँकी १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।