एनआइसी एशिया लघुवित्तको शेयर ७ महिनापछि चैत्र १८ गते बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
मर्जर प्रकृयाका कारण गत साउन ३२ गतेदेखि रोक्का रहेको लघुवित्तको शेयर कारोबार एकीकृत कारोबार र शेयर सूचीकरणपछि मर्जर सम्झौताको सात महिना पश्चात खुला भएको हो ।
एनआइसी एशिया र स्वदेशी लघुवित्त बीच १००ः९४ कित्ता शेयर स्वापको अनुपातमा मर्जर सम्पन्न भएको हो । मर्जरपश्चात दोस्रो बजारमा शेयर कारोबारको लागि मंगलबार नेप्सेमा एनआइसी एशिया लघुवित्तको नाममा स्वदेशी लघुवित्तको २५ लाख ९४ हजार ४०० कित्ता शेयर सूचीकृत भएको छ । शेयर सूचीकरणसँगै नेप्सेले लघुवित्तको रोक्का रहेको शेयर फुकुवा गरेको छ ।
मंगलबार शेयर सूचीकरणपछि बुधबारबाट एनआईसी एसिया लघुवित्तको नामबाट दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको हो । नेप्सेले लघुवित्तको पहिलो शेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार रेञ्ज तोकेको छ । मर्जरको बखत लघुवित्तको ७५९ रुपैयाँमा शेयर कारोबार रोक्का भएको थियो ।
कम्पनीको शेयर कारोबारको लागि एनआईसीएलबिएसएल (NICLBSL) कारोबार संकेत दिएको छ । जुन एनआईसी एशिया लघुवित्तको यसअघि नै कारोबार हुँदै आएको सिम्बोल हो ।
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएर चैत ८ गते आइतबारदेखि एकीकृत कारोबार थालेका थिए ।
एनआईसी एशिया र स्वदेशी लघुवित्तले गत साउन ३२ गते गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका थिए । यी दुई लघुवित्तले गत कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया