अजोड इन्स्योरेन्सको शेयर कारोबारमा सूचना चुहाएर गरिने भित्री कारोबार अर्थात ‘इन्साइडर ट्रेडिङ्ग’ बारे नियामक निकाय धितोपत्र बोर्डले अध्ययन गर्ने भएको छ ।
बोर्डका सहायक प्रवक्ता रुपेश केसीले लगानीकर्ताबाट ‘इन्साइडर ट्रेडिङ्ग’ बारे अध्ययन गर्न माग भएपछि सो सम्बन्धमा बोर्डले के भएको हो, ‘इन्साइडर ट्रेडिङ्ग’ हो कि होइन भनेर अध्ययन गर्नका लागि उप समिति गठन गरिएको नोटबजारलाई बताए ।
उपसमितिलाई जतिसक्दो चाँडो अध्ययन छानबिन गरि प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । समितिले भित्री कारोबार भएको पुष्टि गरे बोर्डले नियमअनुसार आवश्यक कारवाही गर्ने बताएको छ ।
अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनुअघि नै शेयर मूल्य तथा उच्च कारोबार भएपछि कम्पनीको शेयर कारोबारमा ‘इन्साइडर ट्रेडिङ्ग’ भएको भन्दै अनुसन्धानको माग हुँदै आएको थियो ।
लगानीकर्ता केशब कोइरालाले कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्णय सञ्चालक समितिको बैठक अगावै बाहिर ल्याएर कम्पनीको सञ्चालक तथा आफन्तहरुबाट शेयरमूल्य बढाएर ठूलो कारोबार भएको भन्दै ‘इन्साइडर ट्रेडिङ्ग’ को छानबिन गर्न माग गर्दै सेबोनमा निवेदन समेत दर्ता गराएका थिए ।
गत सोमबार चैत १६ गते कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर ठूलो परिणाम अर्थात ८ करोड ९५ लाख बढीको शेयर कारोबार भएको थियो । अन्य दिनमा १ करोड हाराहारीमा शेयर कारोबार हुँदै आएको कम्पनीको उक्त दिन उच्च कारोबार हुनु र दुई दिन पछि न्यून कारोबार भई फेरि मूल्य बढाएर उच्च कारोबार हुनुले कम्पनीको शेयरमा भित्री कारोबार भएको आशंका गरिएको छ ।
उच्च कारोबार भएको भोलिपल्टै ( चैत १७ गते मंगलबार) कम्पनीले शेयरधनीलाई ५० प्रतिशत हकप्रद बिक्री गर्ने विशेष प्रस्ताव राखेर बैशाख ७ गते साधारण भसा आह्वान गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया