नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । तेस्रो त्रैमास सकिन लाग्दा कम्पनीले बल्ल वित्तीय विवरण प्रकाशनमा ल्याएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब ४० करोड ५२ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३९ करोड ४६ लाख रुपैयाँ गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क २५.९४ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको खुद नाफा भने घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा ५३ करोड ६९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय ४५ करोड ४३ लाख र जीवन बीमा व्यवसाय ८ करोड २६ लाख रुपैयाँ गरी कुल ५३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३.८६ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ६२ करोड ३३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीले यस अवधिमा ९९ करोड ८ लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत खर्च गरेको छ ।
यस अवधिमा कम्पनीले १ अर्ब २८ करोड ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ८२ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १० रुपैयाँ ७४ पैसा छ । जगेडा कोषमा ३ अर्ब ४९ करोड २ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात ७८.९७ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया