चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच अझै पुग्न सकेन

0
Shares

सरकारी लक्ष्य अनुरुप देशभर रहेका ७५३ स्थानीय तहमध्ये अझैपनि चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न नसकेको देखिएको छ । हालसम्म ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिना अर्थात फागुनसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । गत आवको फागुन महिनासम्ममा ७४६ स्थानीय तहमा बैंकको शाखा पुगेका थिए ।

राष्ट्र बैंकका अनुसार फागुनसम्ममा चार स्थानीय तहमा वािणज्य बैंकको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको फागुनसम्मको तथ्यांकअनुसार ताप्लेजुङ्गको मिक्काखोला गाउँपालिका, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका गरी चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा नपुगेको हो ।

राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार प्रदेश १, बाग्मती, कर्णाली र सुदुर पश्चिम प्रदेश वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेका प्रदेश हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश १ र प्रदेश दुईका स्थानीय तहमा १३६/१३६ वटा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । बागमती प्रदेशमा ११८, लुम्बिनीमा १०९, सुदूर पश्चिममा ८७, गण्डकीमा ८५, कर्णालीका ७८ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

२०७७ फागुनसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा फागुनसम्ममा १० हजार ४३० पुगेको छ ।

२०७७ फागुनसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।