कामना सेवाको खुद नाफा साढे ५८ करोड, कसरी बढ्यो उल्लेख्य ?

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड ६१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आइतबार सार्वजनिक भएको बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत आवको यसै अवधिको तुलनामा १७२ प्रतिशतले खुद नाफा बढाएको हो । गत आवको यसै अवधिमा बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकले ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी बढाएको छ भने गैह्र व्यवसायीक (सम्पत्ति बिक्री) आम्दानी समेत उल्लेख्य बढ्दा खुद नाफामा उच्च सुधार देखिएको हो ।

नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.(१६ रुपैयाँले बढेर २९.४७ रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ ११४.३५ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात १ प्रतिशत, आधार दर ८.८५, स्प्रेडरेट ४.९५ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.९४ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकले ३८ करोड ८८ लाख ९७ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्म बैंकले ३९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारको तुलनामा बैंकको निक्षेप २३ प्रतिशतले बढ्दा कर्जा लगानी ४१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७६ लाख पुगेको छ भने अन्य सञ्चालन आम्दानी ४२ लाख ८८ हजार बढेर ३ करोड ६९ लाख १० हजार तथा गैह्र व्यवसायीक आम्दानी २३ करोड ८१ लाख बढेर २३ करोड ९६ लाख पुगेको हो । नियमित कारोबार बाहेक गैह्र व्यवसायीक आम्दानीबाट  २४ करोड बढी आम्दानी हुँदा बैंकको नाफामा उच्च सुधार देखिएको हो ।

बैंकको चुक्ता पूँजी २ अर्ब ६५ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७७ करोड ६८ लाख तथा शेयरधनी कोषमा ३९ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।