बीमा समितिद्धारा बालबालिका बीमालेखमा कडाई

0
Shares

बालबालिकाको बीमालेखको दूरुपयोग घटना बढ्न थालेपछि बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बालबालिकाको बीमालेखमा कडाई गरेको छ ।

समितिले सोमबार सबै जीवन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै पाँचबुँदे व्यवस्थाको अधिनमा रहेर मात्र स्वीकृतिका लागि पेश गर्न तथा हाल प्रचलनमा रहेको बीमलेखलाई समेत सोही बमोजिम परिमार्जन गर्न निर्देशन दिएको हो ।

समितिले एकै परिवारको एक जना मात्रै बालबालिकाको बीमा गर्न नपाउने तथा सबै बालबालिकाको समान बीमाङ्क गर्न निर्देशन दिएको हो ।
यसैगरी बालबालिकाको बीमा गराउँदा ५० लाखको कुल बीमाङ्कको सीमाभित्र रहेर गर्नुपर्ने तथा सोभन्दा बढी रकमको बीमा गराउँदा प्रस्तावक (अविभावक) को समेत सो बीमाङ्क कायम गर्नेगरी बीमा गराउन भनेको छ ।

यसैगरी बालबच्चाको बीमा गर्दा बालबच्चाको बीमा अवधिसम्म आर्थिक रुपमा बीमाशुल्क भुक्तान गर्न सक्षम रहेको र ठूलो बीमङ्कको हकमा अविभाकको समेत बीमा निरनतर गर्नसक्नेगरी उसको आर्जनले थेग्नेगरी वित्तीय जोखिमाङ्कन गरेर मात्र बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले बीमित बच्चाको जोखिम सुरक्षण हुनुअघि मृत्यु भएमा बीमा वापत लिएको बीमशुल्क रकम फिर्ता गर्न पनि निदैृशन दिएको छ ।

यसैगरी बीमित बच्चाको जोखिम सुरक्षण भैसकेपछि मृत्यु भएमा तत्काल बीमङ्कको २५ प्रतिशत र बाँकी ७५ प्रतिशत तथा मृत्यु हुँदासम्म आर्जित बोनस एकमुष्ठ रुपमा बीमा अवधि समाप्त भएपछि प्रस्तावलाई भुक्तानी दिन निर्देशन दिइएको छ ।

रौतहट र पोखरामा बीमा वापतको पैसाका लागि परिवारकै सदस्यबाट बालबालिको मृत्यु गर्ने प्रकृतिको घटनापछि बालबालिकाको बीमालेखमा समितिले कडाई गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ वैशाख २०७८, मंगलबार  १८ : ०४ बजे