कुमारी बैंकको खुद नाफा ७८% ले बढ्यो, स्थीर ब्याज खर्चले बढायो आम्दानी


चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा कुमारी बैंकको खुद नाफा ७८ प्रतिशत भन्दा धेरैले बढेको छ । यो अवधिमा बैंकको ब्याज खर्च नबढेपछि समग्र नाफा बढेको हो ।

चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा ७८.५८ प्रतिशतले धेरै हो । गत आवको चैतसम्ममा बैंकले एक अर्ब एक करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासम्मको तुलनामा बैंकले चालु आवमा ब्याज आम्दानी, फि एण्ड कसिमन तथा ट्रेडिङबाट हुने आम्दानीमा समेत सुधार गरेको छ । बैंकको गत वर्षको सोही अवधिको तुलनामा खर्च बढेको भएपनि त्यसले बैंकको वृद्धिलाई असर गरेको देखिँदैन । चालु आवको चैतसम्ममा बैंकको सबैभन्दा धेरै करिब ५० करोडले कर्मचारी खर्च बढेको छ ।

बैंक चालु आवको चैतसम्ममा ९ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ९० करोड ७९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोडरुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आवको चैसम्ममा बैंकले ५ अर्ब ६६ करोड ५९ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ब्याज खर्च गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी रहेको १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७.३७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४.१३ रुपैयाँ रहेको थियो ।

चालु आवको चैमसान्तसम्ममा बैंकको सञ्चित कोषमा ३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकका प्रतिशेयर किताबी मुल्य १३५.४९ रुपैयाँ पुगेको छ । बैंकको पूँजीकोष अनुपात १३.९८ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात १ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर मूल्य आम्दानी अनुपात १८.८८ गुणारहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।