पुन: लकडाउनको चर्चाले बैंकहरुबाट बाहिरिन थाल्यो निक्षेप, १० दिनमै २२ अर्ब घट्यो

0
Shares

कोरोना भाइरसको दोस्रो लहरले तिब्रता पाएसँगै सरकारले कोरोना नियन्त्रणका लागि पुन: लकडाउन गर्ने तयारी गरेपछि बैंकिङ्ग प्रणालीबाट निक्षेप बाहिरिन थालेको छ ।लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेको आँकलन गरिएको छ ।

वाणिज्य बैंकहरूमा रहेको निक्षेप पछिल्लो १० दिनमै २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख १० गतेसम्ममा २७ वाणिज्य बैंकहरुबाट २२ अर्ब बराबरको निक्षेप घटेको छ । गत चैत्र ३१ गतेसम्म वाणिज्य बैंकहरुमा ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख १० गतेसम्म आइपुग्दा ३९ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । सरकारले लकडाउनको तयारी गरेपछि बैंकहरूको निक्षेप घटेको हो ।

यसैगरी, बैंकहरूको कर्जा प्रवाहमा सुस्तता आउन थालेको छ । वैशाखका सुरुका दुई दिन बैंकहरुको कर्जा समेत ८ अर्बले घटेको थियो । तर, १० गतेसम्म आइपुग्दा १७ अर्ब कर्जा विस्तार भएको छ । वैशाखका १० दिनमा बैंकहरुले ९ अर्ब कर्जा विस्तार गरेका छन् । लकडाउनको चर्चाले पनि बैंकहरुबाट कर्जा लिनेहरु पर्ख र हेरको अवस्थामा पुगेका छन् । गत फागुन र चैत्रमा भने बैंकहरुले उल्लेखीय मात्रामा कर्जा प्रवाह गरेका थिए । वैशाख १० गतेसम्म वाणिज्य बैंकहरूले ३५ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।