स्ट्याण्डर्ड चार्टर्ड नामको मात्रै ‘स्ट्याण्डर्ड’, प्रगति भने निरन्तर खस्कँदो

0
Shares


बहुमत विदेशी स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रगति निरन्तर खस्कँदो देखिएको छ ।

शेयर बजारमा ब्लूचिप कम्पनीको रुपमा रहेको बैंकको अन्य वाणिज्य बैंकसँगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दा शेयर बजारमा मझौला वाणिज्य बैंकहरुले नै यस बैंकलाई पछाडि पार्ने अवस्था आउन थालेको छ । विगत केही वर्षयता बैंकको प्रगतिस्तर घट्दै गएको छ ।
बुधबार सार्वजनिक भएको बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्तिवेदन अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड ३६ लाख २० हजार रुपैयाँमा संकुचित बनेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ८० करोड २५ लाख ९५ हजार खुद नाफा कमाएको बैंकको नाफा ३४.३४ प्रतिशतले घटेको हो । खुद ब्याज आम्दानी सहित आम्दानीको मुल सुकेको बैंकको खर्च बढ्दा नाफा प्रभावित भएको हो । अन्य वाणिज्यभन्दा फरक व्यवसाय रहेको यस बैंकको नाफामा विश्वब्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण प्रतितपत्रबाट हुने आम्दानी ठप्प प्राय: छ भने बैंकको न्यून शाखाका कारण अन्य प्रकारको कर्जा विस्तारमा समेत बैंक असफल देखिएको हो

बैंकको वितरणयोग्य नाफा ९५ करोड ५९ लाख रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा १ अर्ब १३ करोड ३५ लाख ३३ हजार रुपैयाँ रहेकोमा सो अवधिको तुलनामा बैंकको वितरणयोग्य नाफा पनि २७.२३ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रुपैयाँ रहेको बैंकको ७ प्रतिशतले पूँजी बढेपनि नाफा घटेका कारण प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ११.५९ रुपैयाँ घटेर १८.४१ रुपैयाँमा झरेको हो ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ७८ अर्ब ३८ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ८३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ६९ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा ३३.०८ प्रतिशत, सञ्चालन नाफा ३४.४५ प्रतिशत, आधार ब्याजदर १.९४, कोषको लागत १.५२ प्रतिशतले घटेको छ भने खराब कर्जा अनुपात ०.१५ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलन१७.५० प्रतिशतले घट्दा कर्जा लगानी भने १४.९० प्रतिशतले बढाएको छ । बैंकको जगेडा कोषमा ५ अर्ब ७० करोड ५१ लाख र शेयरधनी कोषमा १ अर्ब ७४ करोड ८४ हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १७.८६, खराब कर्जा अनुपात ०.५०, कोषको लागत ३.४५, कर्जा निक्षेप अनुपात ७४.६५, आधारदर ५.३३, स्प्रेडदर ४.०५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १८६.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.०३ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।