ग्लोबल आइएमई बैंकले आकारसँगै बढाउँदै छ व्यवसाय र आम्दानी

0
Shares

हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंकका रुपमा रहेको ग्लोबल आइएमई बैंक (GBIME) ले आफ्नो आकारसँगै व्यवसाय र आम्दानी पनि विस्तार हुँदै गएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष १४ प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी २१ अर्ब ६३ करोड पुर्याएको बैंकले ३२ प्रतिशतले नाफा बढाउँदा १६ प्रतिशतले प्रतिशेयर आम्दानीमा सुधार गरेको छ ।

जनता बैंकलाई गाँभेपछि चुक्तापूँजीको आधारमा सबैभन्दा बलियो बनेको बैंकको निक्षेप तथा कर्जा विस्तारमा समेत सुधार आएको छ । व्यवसायको आकार बढ्दै जादा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको भन्दा ३२.४० प्रतिशतले खुद नाफा बढाएको छ ।

अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ७० करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा ३ अर्ब ५७ करोड नाफा गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड पुगेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप १५.०६ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १७.११ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.६१ प्रतिशत पुगेको छ ।

बैंकले ब्याज आम्दानी पनि बढाएर ६ अर्ब ३३ लाखबाट ६ अर्ब ८७ करोड पुर्याएको छ । त्यसैगरी सञ्चालन आम्दानी ८ अर्ब ६४ करोड रूपैयाँ छ ।

२१ अर्ब ६३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १० अर्ब ५८ करोड रहेको छ । बैंकको र्पति शेयर आम्दानी २२.०५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७२ रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।