लक्ष्मी बैंकको प्रगति कायमै, खुद नाफा सवा एक अर्ब

0
Shares

लक्ष्मी बैंक लिमिटेड (LBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ८ करोड ९९ लाख ७७ हजार खुद नाफा कमाएको बैंकको १८.१८ प्रतिशतले नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि आम्दानीका अन्य स्रोत बढ्दा नाफा बढेको हो । बैंकको फि कमिशन आय, अन्य सञ्चालन आम्दानी र ट्रेडिङ्ग आय बढेको छ भने खराब कर्जा नोक्सानी व्यवस्था घट्दा खुद ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा भने बढेको हो ।

यस्तै बैंकको वितरणयोग्य नाफामा पनि उच्च सुधार आएको छ । गत आवको यसै अवधिमा ४१ करोड १ लाख ९ हजार रहेको ऋणात्मक रहेको यस्तो नाफा ८४ करोड ७६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको बैंकको ९ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी १।२५ रुपैयाँले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १६.०६ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ६ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ३५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.८८ प्रतिशतले घटेपनि सञ्चालन नाफा १५.६९ प्रतिशतले बढेको छ । निक्षेप संकलन ८.३८ प्रतिशत, कर्जा लगानी १६.२८ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर ३, कोषको लागत २.३६ प्रतिशतले घटेको छ ।

बैंकको जगेडा कोषमा ४ अर्ब ८ करोड ९६ लाख ८० हजार र शेयरधनी कोषमा १ अर्ब ४७ करोड ४५ लाख ३० हजार रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.७२, खराब कर्जा अनुपात ०.७१, कोषको लागत ४.९६, कर्जा निक्षेप अनुपात ७८.५१, आधारदर ६.७९, स्प्रेडदर ३.५९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५२.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.६२ गुणा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।