चालु आर्थिक वर्षको अर्थतन्त्र ४.१ प्रतिशतले विस्तार हुने केन्द्रिय तथ्याङ विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा अर्थतन्त्र २.०९ प्रतिशतले नकारात्मक रहेको थियो ।
विभागका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धि उपभोक्ता मूल्यका आधारमा ४.१ प्रतिशतले भई अर्थतन्त्रको आकार ४२ खर्ब ७७ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरेको छ ।
चालु आर्थिक वर्षमा आधार मूल्य आधारमा आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्ररम्भिक अनुमान रहेको छ । सोही वृद्धिदर गत आर्थिक वर्ष २०७६/७७ मा २.१२ प्रतिशतले नकारात्मक हुने संशोधीत अनुमान र आर्थिक वर्षको २०७५/७६ मा वृद्धि दर ६.३९ प्रतिशत रहेको अन्तिम अनुमान विभागले गरेको छ ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २६.४ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रको कुल वृद्धि दर स्थिर मूल्यमा २.७५ प्रतिशतले हुने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा धानको उत्पादनमा भएको वृद्धिले गर्दा यस क्षेत्रको उत्पादनमा गत आवको भन्दा बढी वृद्धि दर रहेको छ ।
त्यसैगरी चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा उद्योग र विद्युत तथा ग्याँस, पानीको आपुर्ति तथा निर्माण क्षेत्रले १२.५ प्रतिशत योदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रको वृद्धिदर स्थिर मूल्यमा ४.९३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको विभागले जनाएको छ । खासगरी उर्जा क्षेत्रको विस्तार, मेलम्ची खानेपानी आयोजना, निर्माण कार्यमा वृद्धि आदिका कारणले यस क्षेत्रको कुल मूल्य वृद्धिदरमा प्रभाव पारेको हो ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ६१.१ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा चालु आवमा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशतले हुने प्रारम्भिक अनुमान रहेको छ । यस क्षेत्र अन्तर्गतका आवास तथा भोजन सेवा तथा यातायातको क्षेत्रमा कोरोना महामारीले गर्दा प्रत्यक्ष असर गरेको छ ।
प्रतिक्रिया