शेयर बजारमा नयाँ लगानीकर्ता थपिदैं, ३५ लाख बढी डिम्याट खाता खुले

0
Shares

प्रविधिमैत्री बजार, दोस्रो बजारमा आएको उछाल र सार्वजनिक निष्काशनमा समेत आएको वृद्धिले पछिल्लो चरणमा शेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको सहभागिता उच्चदरमा बढेको छ।

शेयर बजारप्रति सर्वसाधरणको रुची र आकर्षण बढेपछि पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य रुपमा बढेको छ । वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ ।

पछिल्लो ढेढ महिना अर्थात चैत यता मात्रै साढे ३ लाख बढी डिम्याट खाताहरु थपिएका छन् । यसबाट पनि शेयरबजारमा दैनिक नयाँ लगानीकर्ताहरु प्रवेश गरेको प्रष्ट्र हुन्छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार ०७७ वैशाख २० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ३५ लाख ९ हजार ८ सय ८२ पुगेको छ । जबकी गत फागुन २८ गते शुक्रबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार २८९ रहेको थियो ।

पछिल्लो समयमा हातखाली नहुनेगरी नेपाल रिइन्स्योन्स कम्पनी र निफ्राले ठूलो परीमाणमा आइपीओ जारी गरेकाले पनि डिम्याट खाताखोल्नेहरु ह्वात्तै बढेका हुन् । साथै आइपीओ निष्काशनको पाइपलाइनमा समेत नयाँ नयाँ कम्पनीहरु थपिँदै गएका छन् । यसले पनि शेयरप्रति सर्वसाधारणको रुची बढाएको छ । अहिले आइपीओमा आवेदन गर्नेको संख्या नै १८ लाख बढी छ । पछिल्लो चरणमा खुलेकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जनाले आवेदन गरेका थिए ।

साधारण शेयरमा आवेदन दिन देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ । जसलेगर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ । लकडाउनका समयमा पनि अनलाइन मार्फत खाता खोल्न सक्ने व्यवस्थाहरु गरिएकाले खाता खोल्ने क्रम दैनिक बढीरहेको छ ।

नेपालको शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताहरुको संख्या निरन्तर बढ्न थालेको छ। प्राथमिक बजारमा मात्र होइन दोस्रो बजारमा पनि उल्लेखीय रुपमा नयाँ लगानीकर्ताहरु प्रवेश गरेको पाइन्छ । पछिल्लो चरणमा दोस्रो बजारमा कारोबारका लागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन् भने साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।