महिला लघुवित्तको शेयर आईपीओमै ब्लु चिप बन्दै, महिना दिनसम्म निरन्तर मूल्यवृद्धि

0
Shares

चैत ३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) कारोबारमा आएको साढे १ महिनामा नै ब्लुचीप बन्नेततर्फ उन्मुख भएको छ । सोमबारसम्म कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा ३० दिन कारोबारमा आएकोमा सबैजसो दिनमा सकारात्मक सर्किट लागेको छ ।

सुरुवाति केही दिन शेयर बिक्रीकर्ता शुन्य रहँदा शेयर कारोबारमा आउने मुस्किल हुने बेलामा बाहेक कम्पनीको शेयरमूल्यमा १८ दिन त सकारात्मक सर्किट लेबलमा बढेर नै कारोबार भएको छ । 

लघुवित्तको शेयर महिना दिनको कारोबार अवधिमा १२ हजार ६१४ कित्ता शेयर मात्र कारोबारमा आएको छ । जुन लघुवित्तले सर्वसाधारणमा जारी गरेको ३ लाख ७५ हजार कित्ताको ३.३६ प्रतिशत मात्र हुन आउँछ । साढे ३ प्रतिशत शेयर कारोबारमा नआउँदा नै झण्डै ३७ गुणासम्म मूल्य बढनुले पनि कम्पनीको शेयर आइपीओमा नै ब्लूचिप बन्न पुगेको हो ।

कारोबार सुरु भएको एक महिनासम्म निरन्तर वृद्धि हुँदा कम्पनीको शेयरमूल्य ३ हजार ३४२ रुपैयाँले बढेको छ । सुरुवाति दिनमा पहिलो कारोबार ४३८ रुपैयाँमा कारोबार खुलेको यस लघुवित्तको सोमबार प्रतिकित्ता ३ हजार ७८० रुपैयाँ पुगेको छ । यो कारोबार खुलेको मूल्यका आधारमा ७६३ प्रतिशत धेरै हो ।

सोमबारसम्म कायम भएको मूल्यका आधारमा नै कम्पनीको गोलाप्रथाबाट १० कित्ता शेयर हात पारेका लगानीकर्ताले ३६ हजार ८०० रुपैयाँ नाफा कमाएका छन् । जुन लगानीका हिसाबले ३६.८० गुणा बढी हो । यस आधारमा यस लघुवित्तको २० कित्ता आईपीओ पर्ने परिवार यस कम्पनीको शेयरबाटै लखपति हुने संकेत देखिन्छ ।

कम्पनीको शेयर दोस्रो बजारमा अझैपनि सहज रुपमा कारोबारमा आएको छैन । सोमबार पनि कम्पनीको २ हजार ४२० कित्ता शेयर ९१ लाख ३९ हजार ४५० रुपैयाँमा खरीद बिक्री भएको छ । प्रतिकित्ता १०० को शेयर ३ हजार ७८० रुपैयाँ पुग्दा समेत बल्ल २ हजार ४२० कित्ता मात्र दैनिक कारोबारमा आउनुले कम्पनीको शेयरमूल्य अझै बढ्ने देखिन्छ ।

एक साता यता मात्र एक हजारभन्दा बढी कित्ता शेयर कारोबारमा आएको छ । यसअघि निकै कम मात्र शेयर कारोबारमा आएको थियो । शेयर नै ३७ हजार ५०० जनाले मात्रै पाएका र धेरै शेयर पाउने लगानीकर्ताको दोेस्रो बजारमा कारोबारका लागि खाता नभएका कारण पनि कम्पनीको सप्लाई साइड निकै कम छ भने डिमाण्ड साइडमा निकै उच्च माग छ । 

बजारमा शेयरमूल्य बढ्दै जाँदा शेयर खरीद गर्ने लगानीकर्ताको आकर्षण भने उच्च छ । 

दश करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आवको तेस्रो त्रैमासम्ममा ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ८५.६६ रुपैयाँ कायम गरेको छ । जगेडा कोषमा १९ करोड १८ लाख सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ २९१.८४ रुपैयाँ छ ।

नेपाल स्टक एक्सचेञ्ज र महिला लघुवित्तबीच धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चैत १ गते सोमबार सूचीकरण गरिएको हो । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६ लाख कित्ता संसथापक र ४ लाख कित्ता साधारण गरी कुल १० लाख कित्ता शेयर सूचीकृत गरेको थियो ।

लघुवित्तले नेपाल एसबिआई क्यापिटल मार्फत प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर माघ ३० गतेदेखि फागुन ५ गतेसम्म जारी गरी फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड गरेको थियो । उक्त आईपीओ कुल आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ता हात पारेका थिए ।

कुल ४ लाख कित्ता शेयर निष्काशन गरिएकोमा लघुवित्तका १५३ जना कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषका लागि २० हजार कित्ता बाँडफाँड गरिएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।