रेम्डिसिभिरमा कालोबजारीः ३० हजार पर्ने रेम्डिसिभिर एक लाख २० हजारमा किनबेच

0
Shares

रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको छ ।

कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करीब ३० हजार पर्ने छ थान रेम्डिसिभिर रु एक लाख २० हजारमा किनबेच गर्न लागेका अवस्थामा उनलाई काठमाडौँको वसुन्धराबाट पक्राउ गरिएको जनाइएको छ।

मियाले काठमाडौँ महाराजगञ्जस्थित नीलकण्ठ लम्सालका नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेम्डिसिभिर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले प्रहरीले उक्त फर्मा बन्द गरी फरार ढकालको खोजी गरिएको रहेको महाशाखाले जनाएको छ ।

५०० लाई कारवाही

प्रहरीले बिहीबार स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्नै ५३५ जनालाई जरिवाना तिराएर कारवाही गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गरेकाले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

निषेधाज्ञा कार्यान्वयनमा खटिएको प्रहरीले बिहीबार विभिन्न जिल्लामा छ हजार १७८ जनालाई निःशुल्क मास्क समेत वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै रु’ अभियान पनि जारी राखेको छ ।

सोहीक्रममा नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले बताए ।

नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई पनि तीव्र पारेको छ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने नौ हजार ८५२ जनालाई होल्ड गरी छाडिएको छ । सोक्रममा एक हजार २७७ गाडी र दुई हजार ५३० मोटरसाइकल गरी तीन हजार ८०७ सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ वैशाख २०७८, शुक्रबार  ०८ : १४ बजे