एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी “हेल्लो डाक्टर” शुरू

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको शुभारम्भ भएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा छ ।

हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा संचालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।

हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोली वैशाख २६ गते आइतवारबाट शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ । त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।

नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हु“दा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गर्नु भएको छ । आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष गोल्छाले जनाए ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयां रेकर्ड राख्दै बढीरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउंबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन पनि महासंघले आग्रह गरेको छ ।