सत्ता राजनीतिमा होइन नागरिकको जीवनरक्षा तथा जनजीवीकाको सुरक्षामा ध्यान देउ : एनबिआई

0
Shares

कोभिड १९ को भिन्न भेरियन्ट सहित महामारीको दोस्रो लहरबाट सम्पूर्ण देश आक्रान्त भइ पूनः लकडाउनको स्थितिको सामना गरिरहेको छ ।

निजी क्षेत्रले यो पटक विगतभन्दा तीव्र गतिमा संक्रमण बढ्नुका साथै बालबालीका तथा यवुाहरूमा समेत गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने गरी मृत्यु नागरिकहरुको संख्या ह्वात्तै बढ्न गएकाले त्रासदिपूर्ण अवस्थाको सिर्जना भएको जनाएको छ ।

देशभर स्वाथ्य सामाग्री, औषधोपचार, स्वाथ्यकर्मीहरुको अभाव खट्कदै गईरहेको छ भने लकडाउनसँगै आम नागरीकको जीवनयापन कठिन बन्दै जानुका साथै उद्योग व्यवसाय ताला लाग्ने प्रत्यक्ष अप्रत्यक्षरुपमा लाखौँ राजगारी प्रभावित हुन पुगेको छ । गत वर्षको अनुभवका आधारमा अहिले दोस्रो लहरको सुरुवाति दिनहरुमात्र भएकोले आगामी दिनहरु अझै चुनौतिपूर्ण हुने सहजै अनुमान गर्न सकिने बताइएको छ ।

विगतको अनुभवबाट सिकेर दोस्रो लहरका लागी अत्यावश्यक पूर्वतयारी सहित सम्पूर्ण समाज एक ढिक्का भएर महामारी विरुद्धको युद्ध लड्ने र जित्ने नेपाली जनताको अपेक्षा पूरा हुन सकिरहेको छैन।

यस असाधारण परिस्थितीमा कोरोनाको नियन्त्रण, संक्रमितको उपचारको प्रबन्ध, फ्रन्लाईन सेवा गर्ने स्वास्थ्यकर्मिको मनाबल वृद्धि, अर्थतन्त्रलाइ चलायमान बनाइराख्न गर्नुपर्ने प्राथमिक कार्यहरु लगायत जनताका जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका मुद्दाहरुलाई बेवास्ता गर्दै नेपालका राजनैतिक दलहरु सरकार टिकाउँने र गिराउँने खेलमा केन्द्रित हुनपुग्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

महामारी विरुद्ध सबै पक्षहरु एकजुट भइ महायुद्धको नेतृत्व गर्नुपर्ने वर्ग आफैँमा विभाजित, द्धन्द्धरत, प्राथमिकता विहीन र निरिह हुन पुग्दा त्यसको मूल्य नेपाली जनताले आफ्नो जिवन गुमाएर, भोको पेट बसेर र आफ्नो जीविकाको माध्यम गुमाएर चुकाउनु परिरहेको निजी क्षेत्रको भनाई छ ।

राष्ट्रिय व्यवसायिक पहल एवं सम्बद्ध निजी क्षेत्रका संघ संस्थाहरु राजनीतिक दलहरु तथा तिनका नेतृत्वलाइ महामारी विरुद्धको महायुद्ध नै अहिलेको एकमात्र सर्वोपरिप्राथमिकताको रुपमा स्थापित गरी नागरीकको जीवन रक्षा तथा जनजीविकाको सुरक्षामा सम्पूर्ण शक्ती केन्द्रित गर्न निजी क्षेत्रले जोडदार अपिल गरेको छ ।

साथै निजी क्षेत्रले अत्यावश्यकिय वस्तुहरुको सरल एवं सहज उपलब्धताका लागि सरकारलाई पूर्ण सहयोग गर्न तथा जिम्मेवार व्यवसायीक अभ्यासलाई दृढताका साथ अवलम्बन गर्न सम्पूर्ण उद्योग व्यवसाय क्षेत्रलाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।