ताप्लेजुङ्गको मिक्वाखोलामा पुग्यो पहुँच, ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार

0
Shares

चैत महिनामा प्रदेश नम्बर १ को ताप्लेजुङ्ग मिक्वाखोला गाउँपालिकामा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । यससँगै फागुन मसान्तसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुगेकोमा चैत मसान्त आइपुग्दा ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ ।

देशभर रहेका कुल ७५३ स्थानीय तहमध्ये अब तीन स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न बाँकी रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०७६ चैत महिनासम्ममा ७४६ स्थानीय तहमा बैंकको शाखा पुगेकोमा २०७७ चैत समान्तमा थप चार स्थानीय तहमा वाणिज्य बैंकको पहुँच थपिएको हो ।

राष्ट्र बैंकका अनुसार धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका गरी तीन स्थानीय तहमा मात्र अब वािणज्य बैंकको शाखा पुग्न बाँकी छ । बाग्मती, कर्णाली र सुदुर पश्चिम प्रदेशको एक एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश १ मा १३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । यस्तै, प्रदेश दुई १३६,बागमती प्रदेशमा ११८, लुम्बिनीमा १०९, सुदूर पश्चिममा ८७, गण्डकीमा ८५, कर्णालीका ७८ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

२०७७ चैतसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १४० रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७६५ रहेकोमा चैतसम्ममा १० हजार ५४६ पुगेको छ ।

२०७७ चैतसम्म कुल २१६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । जसमध्ये १६४ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।