विद्युतीय माध्यमबाट बीमाशुल्क संकलनको व्यवस्था मिलाउन निर्देशन

0
Shares

बीमा समितिले बीमा कम्पनीलाई विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकाले विद्युतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिनसम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

कम्पनीहरुले निषेधाज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विद्युतीय माध्यमबाट निवेदन प्राप्तको आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

जीवन बीमा कम्पनीले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितल विद्युतिय माध्यम मार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ दाबी भुक्तानी गर्नु पर्ने भएको छ ।

बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न समितिले निर्देशन दिएको छ ।

बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुले पहेलो रंगको सवारी पास पाउने भएका छन् ।

शाखा कार्यालयहरु सञ्चालनको हकमा हाललाई शाखा कार्यालयको काम कारवाही पनि केन्द्रबाटै सञ्चालन गर्नु पर्ने भएको छ । कर्मचारी राखी शाखा सञ्चालन गर्न पाउने छैनन् ।

काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्न समितिले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।