सिटिजन्स बैंकको सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारी

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CEDB) ले सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।

करिब २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गर्दै आएका थिए ।

भारतको पुणे स्थित सिम्बायोसिस इंस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथ साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी बहन गर्दै आउनु भएको छ ।

“भित्र सिस्टम र बाहिर इमेज” को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाईमा लैजाने विश्वास व्यक्त गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।