वैशाखमा निक्षेप संकलन भन्दा तीन गुणा बढी कर्जा प्रवाह 

0
Shares

 
चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा तीन गुणा बढी कर्जा विस्तार गरेका छन् । निषेधाज्ञा लम्बिएपछि भने बैंकहरुको कर्जा विस्तारमा गिरावट आएको छ । 
 
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढ्न थालेपछि नियन्त्रणका लागि सरकारले लकडाउनको तयारी गरिरहँदा वैशाख महिनाका सुरुवाति हप्तामा बैंकहरुबाट निक्षेप घटेकोमा पछिल्ला हप्तामा भने फर्किएको छ । त्यस्तै सुरुवाति दिनमा कर्जा बढेपनि लकडाउनको अनिश्चितताले पुन कर्जा विस्तारको क्रममा गिरावट आएको छ । 
 
निषेधाज्ञाको अवधिमा पनि सरकारले बैंकहरुलाई अति आवश्यकीय क्षेत्रको रुपमा राखी सीमित सेवा प्रदान गर्न भनेको छ । सोही अनुसार बैंकहरुले सीमित कर्मचारी मार्फत सीमित सेवा प्रदान गर्दै आएका छन । बैंकहरुले निषेधाज्ञाको अवधिमा गरेको कार्यसम्पादन हेर्दा नियमित भन्दा फरक देखिँदैन ।
 
 
बैंकहरुले २०७८ बैशाख महिनामा १२ अर्ब निक्षेप संकलन गरी ३७ अर्ब कर्जा लगानी गरेको अवस्था छ ।  निषेधाज्ञा सुरु हुने कुरासंगै बैंकहरुबाट निक्षेप बाहिरन थालेको थियो । निषेधाज्ञा सुरु भैसकेपछि भने क्रमिक रुपमा निक्षेपमा केही सुधार आउन थालेको देखिन्छ । लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको थियो ।
 
नेपाल बैंकर्स संघका अनुसार वैशाख ३१ गतेसम्ममा वाणिज्य बैंकहरुमा  ३९ खर्ब ५५ अर्ब रुपैयाँ छ । त्यसपछि दुई सातामा भने बैंकहरुमा क्रमिक रुपमा पुनः निक्षेप थपिन थालेको छ । वैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरुले कुल ३६ खर्ब ११ अर्ब कर्जा परिचालन गरेका छन् । 
 
बैशाख महिनाका सुरुका सातामा निक्षेप घटेको भएपनि पछिल्ला साताहरुमा थपिन थालेको छ । तर, वैशाखको अन्तिम सातामा भने कर्जा ह्वात्तै घटेको छ । वैशाख अन्तिम साता बैंकहरुमा २३ अर्ब निक्षेप थपिदा एक अर्ब मात्र कर्जा गएको छ ।
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।