सिमेन्टमा मुलुक आत्मनिर्भर बन्दै, विदेशी लगानीमा नयाँ उद्योग थप्न राष्ट्र बैंकको सुझाव


विकास तथा निर्माणको काममा प्रयोग हुने सिमेन्टमा मुलुक आत्मनिर्भर बन्न सक्ने एक अध्ययनले देखाएको छ । अहिले सञ्चालनमा रहेका ५५ वटा सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा सिमेन्टमा आत्मनिर्भर हुन सकिने राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

उद्योगहरुले पूर्ण क्षमतामा सिमेन्ट उत्पादन नगर्दा अहिले पनि केही मात्रामा सिमेन्ट आयात भईरहेको छ । मुलुकभर प्रत्यक्ष विदेशी लगानीमा ३, सरकारी लगानीमा २ र नीजि लगानीमा ५० गरी ५५ उद्योग सञ्चालनमा छन् । उल्लेखित उद्योगहरुको कुल जडित उत्पादन क्षमता १ करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा सिमेन्टको माग ९० लाख ५० हजार मेट्रिक टन रहेकोमा उल्लेखित उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ । १५ लाख ६० हजार मेट्रिक टन आयात भएको राष्ट्र बैंकको अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन गरी सोको प्रतिवेदनमा थप सिमेन्ट उद्योग सञ्चालन अनुमति दिनु पर्ने औल्याएको हो ।

मुलुकमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वाहुल्यता रहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानी रहेका सिमेन्ट उद्योगको वस्तुस्थितिको तुलनात्मक स्थिति, स्वदेशी माग र आपूर्ति लगायत ती उद्योगहरुको सामाजिक तथा आर्थिक प्रभाव संलग्न गरी अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययनमा विदेशी लगानी रहेका ३, सरकारी स्वामित्वका २ र निजी स्वामित्वका ५० मध्ये २ उद्योगलाई समेटेको छ । अध्ययन प्रतिवेदन अनुसार विदेशी लगानी रहेको उद्योगहरुको औसत क्षमता उपयोग ४५.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमशः ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता धेरै हुनुका साथै उत्पादन लागत न्यून भएकाले मुनाफा धेरै भएको अध्ययनले देखाएको हो ।

“मुलुक भित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेकाले पछिल्ला केही वर्ष यता सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ” प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवद्र्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने प्रतिवेदनले देखाएको हो ।

सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण “वेल्थ इफेक्ट” लगायतका सकारात्मक प्रभावहरु परेको भएता पनि वातावरणीय प्रदुषण सम्वन्धी नकारात्मक असर पनि परेको प्रतिवेदनमा उल्लेख छ । जसका कारण सिमेन्ट उद्योगहरुलाई आवासीय क्षेत्रमा स्थापना गर्न निरुत्साहित गरिनुका साथै सामाजिक संस्थागत उत्तरदायित्व अनुरुप शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदीमा लगानी गर्न प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नु आवश्यक रहेको औंलाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।