उदयपुर सिमेन्टले ३ अर्ब ३८ करोड ५९ लाखको आइपीओ बेचेर ऋण चुक्ता गर्ने

0
Shares

उदयपुर सिमेन्ट उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

उद्योगले यहि जेठ ३० गते १३ आर्थिक वर्षको एकसाथ साधारण सभा आह्वान गर्दै कम्पनीको ऋण चुक्ता गर्नका लागि सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव राखेको हो । उद्योगको २० औंदेखि ३३ औंसम्मको साधारणसभा उद्योगको समीक्षाहल जलजले उदयपुरमा हुनेछ।

उद्योगको हालसम्म १ अर्ब ७२ करोड ५० लाख साँवा तथा १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ ब्याज रकम गरी कुल ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ ऋण रहेको छ । उक्त ऋण रकम बराबरको सर्वसाधरण शेयर जारी गर्ने प्रस्ताव उद्योगले गरेको हो।

यस्तै उद्योगले ४ अर्ब रहेको जारी पूँजीलाई १० अर्ब पुर्याउने प्रस्ताव पनि गरेको छ । उद्योगले डिजिटलमाध्यमबाट साधारण सभा गर्ने जनाएको छ ।

सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योगले ‘गैंडा छाप’ सिमेन्ट बिक्री गर्दै आएको छ । राजनीतिक हस्तक्षेप भोग्दै आएको सिमेन्ट उद्योग २ वर्षसम्म महाप्रबन्धकविहीन हुन पुगेको थियो ।

गत पुस २० गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका गोपिकृष्ण न्यौपानेलाई चारवर्षे कार्यकालका लागि उदययुर सिमेन्ट उद्योगको महाप्रबन्धका रुपमा नियुक्ति गरेको थियो । त्यसपछि उनले नोक्सानमा गएको उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने, थप क्षमता वृद्धिका लागि अध्ययन गराउने, बजार व्यवस्थापन र ब्राण्डिङमा जोड दिने, लागत कम गर्ने उपायको खोजी गरी अन्य उद्योगसँग प्रतिष्पर्धी बनाउने मुख्य योजना बनाएका थिए ।

उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजले को बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरु बनाईएको छ।

यस उद्योग को उत्पादन गैडा छाप सिमेन्ट उच्च गुणस्तरको हुने भएकोले ग्राहकले सम्भव भएसम्म सोही सिमेन्टको खोजी गर्ने तर उत्पादन पुर्ण क्षमतामा नहुने बिडम्बना छ ।जापानको ब्यबस्थापनको र पछिका केही समय उधोग नाफामा सन्चालन भए पनि पछिका दसकौ वर्ष घाटामै चलिरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।