ग्लोबल आइएमई बैंकलाई साढे १ करोड क्षतिपूर्ति तिर्न निर्देशन 

0
Shares

सामाजिक सुरक्षा कोषले ग्लोबल आइएमई बैंकलाई अन्नत कुमार आचार्यको आश्रित परिवारलाई तीन महिना भित्रमा साढे १ करोड रूपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ ।
 
बैंकले तोकिएको समय भित्रमा मृतक कर्मचारी (श्रमिक) आचार्यलाई सामाजिक सुरक्षा कोषमा सुचीकरण नगरेका कारण कोषले उपलब्ध गराउँने आश्रित परिवार सुविधा बापतको रकम भुक्तानी गर्न निर्देशन दिएको हो । 
 
बैंकमा कार्यरत मृतक कर्मचारीका परिवारले गरेको दाबीका आधारमा एक करोड ५१ लाख १९ हजार ५ सय रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको हो । 
 
कोषका अनुसार बैंकमा कार्यरत अन्नत कुमार आचार्यको २०७७ फागुन २८ गते असामायिक निधन भएको थियो । कोषका अनुसार उनले मासिक ३७ हजार तलब लिन्थे । 
 
उनको मृत्युपछि श्रीमति भावना पाठकले आश्रित परिवार सुरक्षा योजना अन्तर्गतका सुविधाहरु दाबी गर्दै सामाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएकी थिईन् । उक्त दाबी आधारमा कोषले सो परिवारलाई ऐनअनुसार क्षतिपूर्ति गर्न भन्दै बैंकलाई निर्देशन दिएको हो । 
 
सामाजिक सुरक्षा कोषले राजपत्रमा २०७५ कार्तिक २६ मा सुचना प्रकाशित गरी सबै प्रतिष्ठानहरूलाई समाजिक सुरक्षा कोषमा दर्ता हुन आह्वान गरेको थियो । ग्लोबल आइएमई बैंक तोकिएको समयमा कोषमा सुचीकरण नभएको कोषले  कोषले जनाएको छ । 
 
कोषको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ दफा १७ अनुसार रोजगारदाता कोषमा सुचीकरण नभएमा वा रोजगारदाताले आफना श्रमिकलाई सुचीकरण नगरेमा कोषले सञ्चालन गरेको सुविधा बापतको रकम रोजगारदाता कम्पनी आफैले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । 
 
सोही व्यवस्था अनुसार बैंकले आचार्यका परिवारलाई सो रकम भुक्तानी गर्न निर्देशन दिएको हो । 
 
कोषका अनुसार  बैंकले मृतक अन्नत कुमार आचार्यको आधारभुत तलब ३७ हजार,  निवेदकको जन्म मितिलाई आधार मानी नेपालको औसत आयु ७१ वर्षका आधारमा आधारभुत तलबको ६० प्रतिशतले हुने १ करोड  १८ लाख ६५ हजार १६० र आश्रित छोरा  र छोरिको जन्म मितिको आधारमा २१ वर्षको उमेर सम्म प्राप्त गर्ने कुल शैक्षिक वृती रकम ३२ लाख २९ हजार ४२६ र अन्तिम संसकार खर्च २५ हजार गरि कुल सो रकम भुक्तानी गर्नु पर्ने छ । 
 
कोषले तोके बमोजिम तीन महिना भित्रमा रकम भुक्तानी नगरेमा कोषले नै असुल उपर गरी भुक्तानी गर्नेछ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।