२ दिनको कारोबार चापले मेरो शेयरमा समस्या, लगानीकर्ताले इडिआईएस गर्न पाएनन्


गत बिहीबार र आइतबारको अधिक कारोबार चापको असर मेरो शेयरमा देखिएको छ । आइतबार मात्र कुल १ लाख ७५ हजारभन्दा बढी पटक शेयर किनबेच भएको थियो । उल्लेखित कारोबारको सेटलमेण्टका दौरान मेरो शेयरमा अधिक चाप परेकाले मेरो शेयरले कारोबारका तथ्यांक तान्न सकिरहेको छैन । जसका कारण लगानीकर्ताले इडिआईएस गर्दा चारित औषतको गणना गर्न प्रणालीले सुझाव दिन्छ, तर इडिआईएसको तथ्यांक देखाउँदैन ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) कासूचना अधिकारी सुरेश न्यौपानेका अनुसार सफ्ट्वेयरलाई कारोबारको विबरण तान्न कठिनाइ भएकाले इडिआइएसमा समस्या देखिएको हो । समस्या समाधानको पहल भईरहेको न्यौपानेले नोटबजारलाई बताए ।

यस अघि प्राथमिक निष्काशन तर्फको क्षमता बिस्तार गरिएकाले मेरो शेयर सहज अवस्थामा चलाउन सकिएको भए पनि अहिले कारोबारको आकार बढेकाले फरक समस्या आएको र समाधानको पहल भईरहेको उनले बताए ।

आइतबार पौने २ लाख संख्यामा भएका कारोबारको तथ्यांक सोमबार एकै पटक लगानीकर्ताकोमा पुगेको हुनाले प्रयोगकर्ता र कारोबारको विबरणको चाप प्रणालीले धान्न नसकेको हो ।

उता शेयर दलाल व्यवसायीहरुले इडिआईएस गर्न नसकेका लगानीकर्ताहरुको धेरै फोन आएको भन्दै छिटो समस्या समाधान गरिदिन आग्रह गरेका छन् । निषेधाज्ञाका बेला सिमित जनशक्तिबाट कार्यालय सञ्चालन गर्नु पर्ने अवस्थामा बजारमा बढेको कारोबारसँगै इडिआइएस हुन नसक्दा कर्मचारीहरु अन्यौलमा परेको उनीहरुको भनाई छ ।

विगतमा मेरो शेयरमा समस्या आउँदा कारोबार राफसाफका लागि समय थप गरिँदै आएको थियो । सोमबार मेरो शेयरबाट लगानीकर्ताले इडिआईएस गर्न नसकेको खण्डमा आइतबारको कारोबारको राफसाफका लागि समय थप हुन्छ वा हुँदैन भन्ने चासो आम लगानीकर्ताका साथै शेयर दलालहरुमा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।