खाने तेलको मूल्य बढ्नुको अन्तराष्ट्रिय कारण के हो ?


पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै ५० रुपैयाँ भन्दा धेरैले मूल्य बढेको छ ।

अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमन समेत गरेको थियो । उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरेर विभागले तेलको मूल्य बढ्नुको कारण जानकारी गराउन नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घलाई निर्देशन दिएको थियो ।

विभागको निर्देशनपछि खाने तेल उत्पादकहरुको छाता सङ्गठनले पनि उद्योगीले अनुचित ढङ्गबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । संघले व्यवसायीले मूल्यवृद्धि नगरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा नै कच्चा पदार्थको मूल्य बढ्दा नेपालमा बढेको जनाएको छ ।

संघमा आवद्ध २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल र सनफ्लावर तेल उत्पादन गरी स्थानीय बजारसँगै विदेशमा समेत निकासी गर्दे आएका छन् । उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ अप्रशोधित सोयाविन तेल र सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नु पर्दछ । यसरी मुख्य कच्चापदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ । पछिल्लो १६ महिनायता तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको संघले जनाएको छ ।

सन् २०२० को मार्चमा प्रति मेट्रिक टन ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अवधिमा एक हजार २७९ डलर पुगेको छ । यस्तै एक वर्ष अगाडि प्रतिमेट्रिक टन ६५६ डलर रहेको सनफ्लावरको तेलको मूल्य एक हजार ५८० भएको छ । एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्यवृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् । ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेनलगायतका मुलुकबाट नेपालमा तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा पनि भाउ बढेको सङ्घले दाबी गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।