बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ : पुर्व अर्थसचिव सुवेदी


पुर्व अर्थसचिव डा. शान्ताराज सुवेदीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वायन चुनौतीपूर्ण रहेको बताएका छन् । धेरैलाई खुसी पार्ने किसिमले बजेट ल्याइए पनि आन्तरिक विषयहरु कार्यान्वयनमा कठिनाई हुने आफ्नो अनुभव रहेको उनले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरकृयामा पुर्व अर्थसचिव सुवेदीले लोकप्रिय बजेटको कार्यान्वयन पक्ष कमजोर हुने बताएका हुन् । आफुले मन्त्रालयमा बटुलेको अनुभवका आधारसँगै कोरोना महामारी र अन्य विषयले गर्दा बजेटका लक्ष्य हासिल हुन नसक्ने उनको भनाई छ ।

राजनीतिक अस्थिरताले पनि बजेटले लक्ष्य हासिल गर्न सक्ने अवस्था नआउने बताएका सुवेदीले चालु आर्थिक वर्षको बजेटमा दुई तिहाईभन्दा बढी मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको तीतो यथार्थले बजेट कार्यान्यनमा समस्या हुने कुरालाई उजागर गर्ने बताए । आर्थिक वर्षको अन्तिमसम्ममा मात्र झण्डै आधा खर्च गर्न पनि हम्मे हम्मे पर्ने विगतको अवस्था अहिले पनि उस्तै रहेको बताउँदै सुवेदीले आगामी आर्थिक वर्षसम्ममा सरकार रहीरहने अवस्था नबनेमा झनै समस्या हुने बताए ।

सरकार निर्वाचनको माहोलमा लागेको अवस्थाले पनि बजेट कार्यान्वयन सहज नहुने उनको भनाई छ ।

बजेट कार्यान्वयनमा विषयगत मन्त्रालयहरूमा उदासीनताको समस्या, आर्थिक वर्षको बजेट कार्यान्वयनमा मन्त्रालयहरुले असार मसान्तसम्म आवश्यक बजेट कार्यान्वयनको खाका बनाइसक्नु पर्नेमा त्यसो नहुनु लगायतले पनि समस्या उत्पन्न हुन सक्नेतर्फ सुवेदीले ध्यानाकर्षण गराएका छन् ।

गैरबजेटरी बजेट र रकमान्तरसँगै सार्वजनिक खरिद ऐनको समस्याले पनि बजेटका उद्धेश्य प्राप्तिमा कठिनाई हुने सुवेदीले बताए ।

बजेट कार्यान्वयनका सम्बन्धमा सुवेदीका भनाई भिडियोमा ।