नक्कली बिल बिजकबाट १७ करोड राजश्व छल्ने एक दर्जन विरुद्ध मुद्दा दर्ता

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी १७ करोड राजश्व छलि गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ।
 
जसमा एक जना भारतीय नागरिक पनि छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
 
विभागका अनुसार उनीहरु विरुद्ध कुल १७ करोड ६० हजार ९ सय ७७ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो। 
 
विभागले सुनसरीको धरान उपमहानगरपालिका १२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेशनलका प्रोप्राइटर किसनकुमार अग्रवालबाट ४ करोड ४२ लाख ७ हजार ६ सय ७४ रुपियाँ तथा धरान १२ कै एसएन इन्टरनेशनलका प्रोप्राइटर रामनिवास अग्रवालबाट ४ करोड ५२ लाख ४२ हजार ७ सय ५३ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग गरेको छ ।
  
यसैगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ बस्ने श्यामकुमार बानियाँ  र मनमोहन जयसवालबाट ५ करोड ५० लाख ८४ हजार ४२ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी सहित उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरिएको जनाएको छ ।
 
यता, पर्साको वीरगञ्ज उपमहानगरपालिका १९ बस्ने भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवार, ट्रक चालक सुनिलकुमार यादव, तिरुपति खाद्य तथा भुसा सप्लायर्सका प्रोप्राइटर राममणि खनाल र वीरगञ्ज भन्सारका प्रतिनिधि अशोककुमार श्रेष्ठबाट १ करोड २२ लाख ५० हजार ९ सय ८ रुपियाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित बैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जमा  मुद्दा दर्ता गरिएको छ । 
 
विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ–१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै १ करोड राजस्व छली गरेका छन् ।  यस्तै रौतहत वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी  ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपी विरुद्ध नजिकका उच्च आदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ । 
 
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।