जेठको तीन सातामा १३ अर्ब निक्षेप थपिँदा २३ अर्ब कर्जा विस्तार 

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनाको तीन साताको अवधिमा वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप थपिँदा २३ अर्बले कर्जा विस्तार भएको छ । निषेधाज्ञाको समयमा पनि बैंकहरुले दैनिक अर्ब बढी कर्जा प्रवाह गरेको देखिन्छ । 
 
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण नियन्त्रणका लागि सरकारले निशेषाज्ञा जारी गरेपछि बैंकहरुको निक्षेप र कर्जा संकलनमा उतारचढाब देखिएको छ । बैंकहरुमा कहिले निक्षेप हवात्तै बढ्ने तथा कहिले निक्षेप घट्ने अवस्था देखिएको छ भने कर्जा प्रवाहमा पनि उतारचढाब कायमै रहेको छ । 
 
जेठको दोस्रो सातमा बैंकहरुको निक्षेप ५ अर्बले घटेकोमा तेस्रो सातामा १२ अर्ब थपिएको छ । त्यस्तै वैशाख अन्तिम साता १ अर्ब मात्र कर्जा प्रवाह गरेका बैकहरुले जेठ महिनाको पहिलो सातामा ६ अर्ब, दोस्रोमा ९ तथा तेस्रो सातामा ८ अर्ब कर्जा परिचालन गरेका छन् । 
 
बैंकहरुले जेठ महिनामा समग्रमा १३ अर्ब निक्षेप थपिदा २३ अर्ब कर्जा विस्तार गरेका छन् ।  लकडाउनको तयारी हुदै गर्दाका सुरुवाति दिनमा कर्जा बढेपनि लकडाउनको अनिश्चितताले कर्जा विस्तारको क्रममा संकुचन आएको छ भने निक्षेपमा पनि उतारचढाब देखिएको छ ।
 
वैशाख महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा तीन गुणा बढी कर्जा विस्तार गरेका थिए । बैशाख महिनामा बैंकहरुले १२ अर्ब निक्षेप संकलन गरी ३७ अर्ब कर्जा लगानी गरेका थिए ।
 
लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिक्न थालेपछि निक्षेप घटेको थियो । तर अहिले निक्षेप तथा कर्जा दुवैमा सामान्य सुधार देखिएको हो।
 
निषेधाज्ञा यता वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्बले बढेको छ । निषेधाज्ञामै पनि बैंकहरुले ४० अर्ब बढी कर्जा विस्तार गरेका छन् । सरकारले कोरोना नियन्त्रणका लागि वैशाख १६ गतेबाट देशभरजसो नै निषेधाज्ञा जारी गरेको छ। 
 
जेठ २१ गतेसम्म बैंकहरुमा कुल निक्षेप ३९ खर्ब ६९ अर्ब रुपैयाँ तथा ३६ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा पुगेको छ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।